१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधि आएपछि दुर्गमका तीन बस्तीको मुहार फेरिँदै



राजेन्द्रप्रसाद पनेरु
२९ कात्तिक, कञ्चनुर ।
स्थानीय तहको निर्वाचनपछि भीमदत्तनगरपालिका ९ का खल्ला, मुसेट्टी र टुँडिखेलको मुहार फेरिन थालेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम बस्तीमा आधारभूत सेवा सुविधा पुग्न थालेको हो ।

ब्रह्मदेवबाट पैदल नै डेढ घण्टाको दूरी तय गरी पुगिने टुँडिखेलसम्म यातायातका साधन सञ्चालनका लागि सडक बनेपछि बीस मिनेटमै पुग्न सकिने भएको छ । मुसेट्टीसम्म गाडी पु¥याउने काम अघि बढेको छ ।

महिला स्वास्थ्यसेविकाका भरमा चलेका बस्तीमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आउँदा सर्वसाधारणले सेवा पाउन थालेका छन् । “खास ब्रह्मदेव यही हो, अहिले ब्रह्मदेव त त्यो बेला सिमकोट थियो” स्थानीयवासी धौले भारतीले भने, “यति पुरानो बस्ती भएर पनि केही भएन, सधैँ समस्यामा मात्रै प¥यौ, जनप्रतिनिधि आएपछि केही काम भएका छन्, अब विकास हुन्छ भन्ने लागेको छ ।”

भीमदत्त नगरपालिका ९ वडा कार्यालयले डोजर लगाएर पहिरो पन्छाएपछि महाकाली नदी किनारको बाटामा गाडी गुड्न थालेका छन् । वडा नं ९ का वडाध्यक्ष राम नाथले भने, “सडक बनेपछि गाडीमा चढेर खल्ला, टुँडिखेसम्म पुग्न सकिन्छ ।”

स्थानीयवासी मोतीसिंह महतले जोखिम मोलेर केही महिनाअघि स्थानीयवासीसंग सहकार्य गरी बाटो खोलेका थिए । अध्यक्ष नाथले खल्ला, टुँडिखेल र मुसेट्टीसम्मको प्रमुख समस्या सडकको अभाव हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए ।

हरेक निर्वाचनमा स्थानीयवासीले जग्गाधनी पुर्जा, सडक निर्माण र विद्युत्का लागि नेतासित माग गर्दै आएका छन् । चुनाव जितेपछि नेताले आश्वासन पूरा नगर्दा अभावमै बाँच्नुपरेको यहाँका बासिन्दा बताउँछन् । “अरु बेला त केही भएन, स्थानीय निर्वाचनपछि आएका जनप्रतिनिधिले केही गर्लान् जस्तो देखिएको छ,” स्थानीयवासी कलावती धामीले भने, “समस्या त अझ पनि छन् ,समाधान गरिनुपर्छ ।” विगतमा नेताले अश्वासन मात्रै दिएर फर्के पनि स्थानीय तह निर्वाचनपछि सडक बनेर सुविधा भएको उनले बताए ।

उहाँ जस्तै खल्लाकी अञ्जली बोहराले स्थानीय तहमा विजयी नेताले सडक र स्वास्थ्य क्लिनिकमा सामान्य प्राथमिक उपचारका लागि औषधिको व्यवस्था गरेर काम देखाएको बताइन् । अरु समस्यासमेत यसैगरी समाधान गर्दै जानुपर्ने उनी बताउछिन् ।

खल्ला, टुँडिखेल र मुसेट्टीमा चार सय परिवार बसोवास गर्छन् । स्थानीय निर्वाचनपछि टुँडिखेलमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । गाउँघर क्लिनिककी अनमी ममता महताले सानोतिनो उपचारसहित गर्भ जाँच, सुत्केरी जाँच, परिवार नियोजनका साधन वितरण लगायत सेवा प्रदान गरिएको बताइन् । मासिक रुपमा दुई सयभन्दा बढीले यहाँबाट सेवा पाउने गरेका छन् । तीन बस्ती महिला स्वास्थ्य स्वयंसेबिकाका भरमा थिए । मुसेट्टीकी स्वयम्सेविकाले तीनै बस्तीमा सेवा दिएकी थिइन् ।

स्थानीय तह निर्वाचनपछि खल्ला, मुसेट्टीमा खोला नियन्त्रण, खानेपानी, बाटोघाटाका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । मुसेट्टीसम्म बाटो निर्माण, विद्युतीकरण, खानेपानी, खोला नियन्त्रण, मोबाइल टावर निर्माणलगायत मुख्य समस्यालाई प्राथमिकता दिएर काम शुरु गरिने अध्यक्ष नाथले बताए ।

तीन वटै बस्तीका विद्यालयमा आधारभूत तहसम्म पढ्न सकिने भएकाले स्तरोन्नतिका लागि पहल गरिने अध्यक्ष नाथको भनाइ छ ।

भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार सिमलकोट हुँदा उत्तरका तीन बस्ती खल्ला, टुँडिखेल र मुसेट्टी खास ब्रह्मदेव थियो । छ सय वर्षअघि ब्रह्मदेवमा शक्ति बह्मदेवको शासन चलेको थियो । उनको नामबाट ब्रह्मदेव नाम राखिएको हो । पछि यस क्षेत्रमा भीमदत्त पन्तले आधार इलाका बनाई क्रान्तिको शुरुआत गरेका थिए । समय बित्दै जाँदा दशकौँ पुरानो ब्रह्मदेव खल्ला, मुसेट्टी र टुँडिखेल मात्रै भएन, आफ्ना सबै पहिचान गुमाउँदै दुर्गम क्षेत्रमा बदलिएको छ ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००