१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालमा गई सुत्केरी हुन प्रेरित गर्दै वडा कार्यालय



फागुन १७, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ ।

गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन प्रेरित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताए । उनले भने, “गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिँदा आमा र बच्चा दुवैको जोखिम न्यून हुन्छ, त्यसैले अब सुरक्षित सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिन्छौँ ।”

वडाले गर्भवती महिलाले चाहेको जुनसुकै अस्पताल जाँदाको एम्बुलेन्स वा एम्बुलेन्ससरहको भाडा दिने निर्णय गरेको हो । यसका लागि वडाले हाल एक लाख ५० हजारको कोष बनाएको छ ।

नगरपालिका स्वास्थ्य समितिका संयोजकसमेत रहेका वडाध्यक्ष काफ्लेले आउँदो आर्थिक वर्ष नगरका अन्य सबै वडामा सुरक्षित सुत्केरी कोष निर्माण गरी सुत्केरी महिलालाई यातायात खर्च दिने योजना बनाइएको बताए ।

यसअघि गत पुसमा खानीखोला गाउँपालिका–७ वडाले चौकीमा नियमित गर्भवती स्वास्थ्य परीक्षण गरी सुरक्षित शिशु जन्माउने महिलालाई उनको नवजात शिशु तेल मालिसले स्वस्थ होस् भन्ने उद्देश्यले दुई लिटर तोरीको तेल उपहार दिने निर्णय गरेको थियो ।

विकट भौगोलिक अवस्थाका कारण धामीझाँक्रीको विश्वास गर्दा महिलाले अकालमै मृत्युवरण गर्नुपर्ने अवस्था घटाउन र बाल मृत्युदर घटाउन ‘सुत्केरी उपहार’ कार्यक्रम शुरु गरेको वडाले जनाएको छ । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार ००:००