१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका मतदाताको माग, ‘स्वतन्त्र मतदान गर्न पाऊँ’



प्रेम रौले
२९ कात्तिक, बाजुरा ।
बाजुरामा विगतका चुनावमा आफूहरुले स्वतन्त्ररुपमा आफ्नो मत खसाउन नपाएको भन्दै यस पटकको निर्वाचनमा आफ्नो मत आफैँ हाल्न पाउनुपर्ने माग राजनीतिक दलहरुसंग गर्न थालेका छन् ।

जिल्लामा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रमा पहुँच भए कब्जा गर्ने र मतपत्र खोस्ने गरेकाले यो पटकको मत आफैँले हाल्न पाउनुपर्नेमा जोड दिन थालेका छन् ।

जुन राजनीतिक दलको बर्चश्व जहाँ छ, त्यहीँ मतदान केन्द्र कब्जा गर्दै आफ्नो पार्टीलाई जिताउन खोज्ने प्रवृत्ति अन्त्य गर्न दलका उम्मेदवारसंग आग्रह गर्न थालेको मतदाताले बताएका छन् ।

जिल्लाको विकट क्षेत्रमा रहेको गौमुल गाउँपालिकाका मतदाताले स्वतन्त्ररुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुरोध गरेका छन् । दलीय राजनीतिक प्रभावका कारण गौमुलको वडा नं १ अम्लीसमा धेरैले आफ्नो मताधिकार प्रयोग गर्नै नपाएको भन्दै स्थानीय युवाले आफ्नो अमूल्य मत आफैँले दान गर्न पाउनुपर्नेमा जोड दिएका छन् ।

मतदान गर्न आएका वृद्धवृद्धा र सोझा मतदातालाई फकाएर तपाई मत हाल्न जान्नुहुन्न तपाईकै रोजेको ठाउँमा हामी मतदान गरी दिन्छौँ भनेर फकाउने र भित्र गएर आफू अनुकूल पार्टीको चिन्हमा मतदान गर्ने गरेको उनीहरुले बताए ।

वडाध्यक्षका उम्मेदवार जयराम रोकायाले भने, गत स्थानीय तहको निर्वाचनमा ३०० भन्दा बढी मतको अपेक्षा गरेका थियौँ, मतदान गर्दा ११४ मत आउँदा छक्क परेका छौँ, किन मत कम भएछ भनी खोज्दै जाँदा प्रायजसोको मत अर्को व्यक्तिले हालि दिएको थाहा भयो ।

मतदान केन्द्र कब्जा हुँदैन, तर मतदाता नामावली अनुसार मतदान नभएको रोकायाको भनाइ रहेको छ । त्यस्तै, आफ्नो मत आफैँ खसाल्न नपाउने जिल्लाका धेरै मतदान केन्द्र छन् ।

“एमालेको पकडमा भएका मतदान केन्द्र एमाले र कांग्रेसको पकडभएकामा कांग्रेसले मतदान केन्द्र कब्जा गर्दै आएका छन् । त्यहाँ दलका प्रतिनिधिले मतदान गर्छन्, वास्तविक मतदाता भने टुलटुलु हेरेर फर्किन्छौँ,” गौमुलका एक वृद्ध मतदाताले भने ।

बाजुराका ७० मतदान केन्द्रमध्ये ३३ वटा मतदान केन्द्र अतिसंवेदनशील छन् । तीमध्ये धेरै ठाउँ राजनीतिक कारणले अतिसंवेदनशील छन् । राजनीतिक आस्थाकै आधारमा कर्मचारी खटाइने हुँदा कर्मचारीका कारण पनि स्वतन्त्र मतदानमा अप्ठेरो परेको स्थानीयले बताउने गरेका छन् ।

दल निकटका कर्मचारीले दलको इसारामा काम गर्छन्, कसरी स्वच्छ वातावरणमा मतदान हुन्छ रु स्थानीय तह निर्वाचनका एक पर्यवेक्षकले भने । शान्तिपूर्ण निर्वाचनमा सघाउन नेपाली कांग्रेस बाजुराले गाउँगाउँमा स्वयंसेवक परिचालन गरी आफ्नो अमूल्य मत खेराजान नदिन मतदाता शिक्षालाई पनि उत्तिकै जोड दिएका छन् ।

मतदाताले आफ्नो मत आफैँले दान गर्न दिनुपर्ने वातावरण मिलाउन निर्वाचन अधिकारीलगायत सम्बद्ध पक्षसंग माग गरेका छन् । जिल्लामा अहिले चुनावी अभियानलाई नेपाली कांग्रेस र वाम गठबन्धनले तीव्रता दिँदै आएका छन् । दुवै दलका उम्मेदवार कतै खेतबारीमा हलो जोत्दै मत माग्दै आएका छन् भने कतै कुटो कोदालोको काम गर्दै मत माग्ने गरेको पाइएको छ ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००