२६ कात्तिक, कञ्चनपुर ।
भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि विकास निर्माणका कार्य अघि बढाउन सकिएको छैन् ।
कार्यकारी अधिकृत नभएपछि नगरपालिका कार्यालयले उपभोक्ता समिति र निर्माण कम्पनीसंग सम्झौता गर्न सकेको छैन । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यकारी अधिकृत नभएकाले उपभोक्ता समिति र ठेक्का सम्झौता हुन नसकेको बताए ।
नगरपालिकाले चालू आर्थिक बर्षका लागि पहिलो नगर सभाबाट पारित बजेट अनुसार विकास निर्माणका योजना बनाएको छ । तर कार्यकारी नभएर सम्झौता नहुँदा विकास निर्माणमा ढिलाइ हुने चिन्ता बढेको छ ।
भीमदत्त नगरपालिकाले चालू आर्थिक बर्षमा डेढ अर्ब बजेट नगर सभाबाट पारित गरेको छ । दुई महिनाअघि नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रमेश गौतमलाई बैतडी जिल्ला समन्वय समितिमा सरुवा गरिएको थियो ।
उनको स्थानमा सरुवा गरिएका तर्कराज भट्ट नआएपछि नगरपालिका कार्यकारी प्रमुखविहीन भएको हो । स्थानीयवासीले चुनावी वाचाअनुसार विकास निर्माण अघि बढाउन दबाब दिन थालेका छन् ।
रासस
प्रतिक्रिया