१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा सुरक्षा व्यवस्थामा कडाइ



 

२२ कात्तिक, राजविराज । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए ।

जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए । सप्तरी क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको प्रहरीले जनाएको छ ।

क्षेत्र नं ३ मा अति संवेदनशील ७७ र संवेदनशील १७ तथा क्षेत्र नं ४ मा अति संवेदनशील ५१ र संवेदनशील २३ रहेको बताइएको छ । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको सुरक्षा समितिको भनाइ छ ।

पार्टी–पार्टीबीच अन्तरद्वन्द्व तथा जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासंग जोडिएका कारण पनि मतदान स्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

जिल्लामा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पार्न जिल्लाको सम्पूर्ण मतदानस्थललार्ई वर्गीकरण गरी सोहीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी गरी चार हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

जिल्लामा निर्वाचनका लागि २९५ मतदान स्थलमा ७८ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा प्रदेश सभा सदस्यतर्फ आठ र प्रतिनिधि सभा सदस्यतर्फ चार पदका लागि १५४ जना उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सप्तरीमा कुल तीन लाख ४६ हजार २१४ मतदाता छन् ।
रासस

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ००:००