१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हात्तीको आतंक रोक्ने उपाय खोज्न उम्मेदवारसँग माग



 

२२ कात्तिक, कञ्चनपुर । जंगली हात्तीको आतंक रोक्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका बासिन्दाले मतमाग्न आइपुगेका उम्मेदवारसंग आग्रह गरेका छन् ।

जंगली हात्तीको बथानले दैनिक ग्रामीण क्षेत्रमा प्रवेश गरेर घर भत्काई भण्डारण गरेको अन्न खाइदिनुका साथै लत्ता कपडा र भाँडाकुँडासमेत नोक्सानी गर्दै आएकाले स्थानीय बासिन्दाले उम्मेदवारसंग हात्ती रोक्ने उपाय खोजी समाधान गरिदिन आग्रह गरेका हुन् ।

बागबजार टोलका हात्तीपीडित परिवारलाई भेट्न आइगेका वाम गठबन्धनका निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नगरबहादुर धामी र प्रदेशसभाका उम्मेदवार लालबहादुर खड्कासंग पीडित परिवारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्ती छिर्ने क्षेत्रमा विद्युतीय तारबार गरिदिन माग गरेका छन् । “दैनिक हात्तीले बस्तीमा प्रवेश गरेर नोक्सानी पु¥याउन थालेपछि सास्ती खेप्न बाध्य छौँ,” रामप्रसाद चौधरीले भने, “रातभर जाग्राम बस्नु परेको छ ।”

राति जाग्राम बस्दा दिउँसो सुत्नुपर्छ, त्यसैले मजदुरीमा जान नपाउँदा परिवारले भोकै बस्नुपर्ने अवस्था आएको उनले बताए । हात्तीको बथान हिंस्रक हुन थालेका घर भत्काउँदा मानवीय क्षति हुने सम्भावना प्रवल रहेकाले यसको समाधान गरिनुपर्ने टिकुराम दहितले बताए । हात्तीले घर भत्काएका परिवारका घर पुनः निर्माण गरिनुपर्ने माग उनले अघि सारे ।

दहितले भने, “निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने स्थानमा विद्युतीय तारबार गरिदिन विगतमा चुनाव जितेर गएका उम्मेदवारसंग पनि भन्दै आएका थियौ तर चुनाव जितेपछि बस्तीमै फर्केका छैनन्, चुनावका बेला गरेका वाचा नै पूरा गरेका छैनन् ।”

जंगली हात्ती नियन्त्रणको दिगो समाधान, नदी नियन्त्रणका लागि तटबन्ध र नदीमा पक्की पुल बनाउनेलाई मात्रै यस पटक गाउँमै सल्लाह गरेर एक मतका साथ मतदान गरिने अर्का स्थानीय बासिन्दा कमल सिंह साउदले बताए । “माग पूरा गर्न प्रतिबद्धताले मात्रै पुग्दैन ।” उनले भने, “काम गर्ने तत्परता देखाउनेले मत पाउँछ ।”

प्रतिनिधिसभाका उम्मेदवार नरबहादुर धामीले पीडित परिवारले उठाएका माग पूरा गर्नका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “तत्कालै माग पूरा गर्न कठिन हुने भएकाले चुनावमा विजयी बनाएपछि पहिलो प्राथमिकतामा राखेर कार्य गर्छु ।” यसमा ढुक्क भए हुन्छ, माग पूरा हुन्छन् । अर्का प्रदेशसभाका उम्मेदवार लालबहादुर खड्काले तत्काल पीडित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने बताए ।

यसका लागि तत्काल पहल हुन्छ । आश्वासन मात्रै बाँड्दैनौँ उनले भने, “काम गरेर देखाउँछौँ ।” शुक्लाफाँटा नगरपालिका ३, ५, ६ र ७ का बासिन्दा हात्तीको आतंकबाट पीडित छन् । एक महिनाको अवधिमै हात्तीको बथानले २७ परिवारको अन्नबाली खाएर नोक्सान गरेको छ भने सात परिवारको घर भत्काई भण्डारण गरेको अन्न खाएर नोक्सान गरेको छ । यहाँ प्रतिवर्ष हात्तीको बथानले गाउँमै प्रवेश गरी आतंक मच्चाउँदै आएको छ ।
रासस

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ००:००