१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठ नगरलाई दोब्बर हरियाली बनाइने



 

२१ कात्तिक, काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले बजारको हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेको छ ।

बूढानीलकण्ठको मूल सडकमा दुवैतिर वृक्षरोपण गरिएको छ । यसैगरी निजी क्षेत्र र स्थानीय क्लबसंगको सहकार्यमा गोल्फुटार, बूढानीलकण्ठ सडक खण्डको दायाँबायाँसमेत बिरुवा रोप्ने काम गरिएको बूढानीलकण्ठ नगरप्रमुख उद्धवप्रसाद खरेलका स्वकीय सचिव सुस्मित खरेलले जानकारी दिए । नगरपालिकाले वडा नं १ र २ मा महिला समूहको सक्रियतामा फोहर उत्पादन घटाउनका लागि परियोजना पनि सञ्चालन गरेको छ ।

यस्तै शिक्षासम्बन्धी सबै काम नगरपालिकाबाट गर्नका लागि अहिले शैक्षिक तथ्यांक संकलन भइरहेको छ । नगरपालिकाले १३ वटै वडामा वडा कार्यालय पनि स्थापना गरेको छ । यसअघि छ वटा वडामा मात्र कार्यालय थियो ।

सुस्मितका अनुसार संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई उपयोग गर्नका लागि विभिन्न योजना बनाइएको छ । यस्तै नगरपालिकाले गत वर्षभन्दा ३ प्रतिशत चालु खर्च कम गरेको छ । गत वर्ष २८ प्रतिशत रहेको चालुखर्च अहिले २५ मा झारिएको हो ।

यसैगरी वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले वडामा ढल निर्माण र बाटो मर्मतलाई प्राथमिकता दिइएको बताए । सोअनुसार साततलेदेखि मिलनचोकसम्म ग्राभेल गरिएको छ ।

वडाकै सुन्दरटोल, बालुवाखानीमा ग्राभेल हाल्ने काम सम्पन्नसमेत भएको उनले बताए । उनका अनुसार वडाको सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा सहजता ल्याउनका लागि विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्ने योजना ल्याइएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा नेपाल मेडिकल कलेजसंगको सहकार्यमा वडाभित्र एक घर, एक डाक्टर अभियान सञ्चालन गरिने भएको छ ।

उनले फ्रिवाइफाइ, बाल स्याहार केन्द्र र युवा लक्ष्यित कार्यक्रममा अनुदान दिने काम पनि भइरहेको जानकारी दिए ।
रासस

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलबार ००:००