७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीका कारण चितवन निकुञ्जमा थुप्रिएको फोहर निकाल्न थालियो




रत्ननगर
— चितवन, १७ कात्तिक । बाढीले बगाएर चितवन राष्ट्रिय निकुञ्जस्थित वन्यजन्तुको बासस्थान क्षेत्रमा थुपारेको फोहर उठाउन थालिएको छ । क्षेत्रीय होटल संघको संयोजन तथा यहाँका एकदर्जन बढी संघ संस्थाको आयोजनामा फोहर उठाउन थालिएको हो ।

गत साउन २८ गते आएको बाढीले मकवानपुर जिल्लादेखिका फोहर बगाएर चितवन राष्ट्रिय निकुञ्जमा थुपार्दा वन्यजन्तुलाई असर पार्ने देखिएकाले फोहर उठाउन थालिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

सिसा तथा प्लास्टिकजन्य फोहर अत्यधिक रहेकाले वन्यजन्तुको आहारा तथा बासस्थानमा नै असर गरिरहेको छ । त्यसैले अहिले यहाँका संघ संस्था मिलेर १० दिने अभियान थालिएको हो ।

निकुञ्जको पूर्वी क्षेत्रबाट वृहत सरसफाइ तथा फोहर व्यवस्थापन अभियान शुरु गरिएको बताउँदै कार्यक्रमका संयोजक जीतु तामाङले निकुञ्जको अन्य क्षेत्रमा समेत अभियान चलाउनुपर्नेमा जोड दिए । उनले नेपालीमा नदीमा फोहर फाल्ने बानी रहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने पनि बताए ।

फोहर संकलन अभियान शुभारम्भ गर्दै चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले यो फोहर कहाँबाट आयो भनेर अनुसन्धान गर्नु जरुरी रहेको उल्लेख गरे । साथै वन अतिक्रमण लगायतका कारणले गैँडा हराउँदै गएको प्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

फोहर उठाउने अभियानमा मजदुर तथा सुरक्षाकर्मी गरी झण्डै ४० जना परिचालन भएका छन् । निकुञ्जभित्र नकुहिने फोहरको थुप्रो जताततै रहेकाले राप्ती नदीको मुहानक्षेत्र देखिनै सचेतना अभियानको खाँचो रहेको चरा विज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बताए ।

चोरी शिकार नियन्त्रण युवाजागरण अभियानकी अध्यक्ष डोमा पौडेलले बाढीले निकुञ्ज क्षेत्र डुबानमा पारेकाले फोहर थुप्रिएको बताउँदै निकुञ्जभरिनै सरसफाइ चलाउनुपर्नेमा जोड दिए ।

सिसाजन्य फोहर, प्लास्टिकका बोतल, जुत्ता, चप्पल, लत्ताकपडालगायत मानव उत्पन्न फोहर भेटिएको छ । उक्त अभियानमा क्षेत्रीय होटल संघ र चितवन निकुञ्जसंगै राष्ट्रिय प्रकृति संरक्षण कोष, रेवान सौराहा, नेचर गाइड एशोसिएसन, बाघमारा वन, युनाइटेड हात्ती सहकारी, बाघ संरक्षण समिति, ग्रिन सोसाइटी, साना पर्यटन व्यवसायी, सपना भिलेज, वर्ड एजुकेशन सोसाइटीलगायत संघ संस्थाको सहभागिता छ ।
रासस

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ००:००