६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने गरी बजेट पारित



 

गुलरिया— बर्दिया, १५ कात्तिक । बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विशेषरुपमा विकास गर्ने गरी आर्थिक बर्ष २०७४/७५ को पारित बजेट सार्वजनिक गरिएको छ ।

नेपालको संविधान २०७२ का विभिन्न धारामा आधारित रही गाउँसभाबाट पारित गरिएको बजेट गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले मंगलबार सार्वजनिक गरेका हुन् । बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवं पर्यटन प्रवर्द्धनलाई मुख्य योजना बनाई ७९ करोड १९ लाख बजेट पारित भएको अध्यक्ष श्रेष्ठले बताए ।

सभाले पारित बजेट अन्तर्गत पूँजीगततर्फ ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ चार करोड ८२ लाख ४४ हजार विनियोजन गरेको छ । गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभी इक्युपमेन्ट लगायतका आधारभूत पूर्वाधारका लागिसमेत बजेट पारित गरेको छ ।

अध्यक्ष श्रेष्ठले थपे, “गाउँपालिका अन्तर्गतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत लगायतका आवश्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरेका छौँ ।”

कर्मचारी नियुक्ति र उनीहरुको क्षमता वृद्धिसंगै पिछडावर्ग, मधेशी, मुस्लिम उत्थान तथा विपद् व्यवस्थापन लगायतका कार्यमा समेत बजेट केन्द्रित गरिएको छ । सभाले गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित गर्दै कृषि क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न कृषि उपजका पकेट क्षेत्र बनाउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

पशुपक्षी, दुग्धजन्य वस्तु उत्पादन बढाउँदै कृषिउपज संकलन क्षेत्र निर्माण गर्ने नीति गाउँपालिकाले लिएको हो । गाउँपालिकाले भिलेज प्रोफाइल बनाउँदै गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सिमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकीयस्थललाई पर्यापर्यटनसंग जोड्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति पारित भएको अध्यक्षको भनाइ छ ।

गाउँपालिकालाई आफ्नो भवन नहुँदा समस्या परेको छ । आवश्यक जनशक्ति अभावमा जनताको काम तोकिएको समयमै गर्न कठिनाइ भइरहेको उनले प्रष्ट्याए ।

पारित बजेट कार्यान्वयमा निगरानी गरिने बताउँदै जनताको बजेट पूर्ण सदुपयोग गर्ने नीति लिइएको उनले बताए । साथै निर्माणका सबैकाम ठेक्का प्रक्रियामार्फत गर्दै मूल्यांकन र अनुगमनमा विशेष समिति निर्माण गर्दै गुणस्तरीय कामलाई प्राथमिकता दिइने बताए ।

बजेटले गाउँपालिकाको सबै क्षेत्रलाई समेट्न नसकेको स्थानीय कालु थारुले बताए । उनले भने पहिलो पटक भएर पनि होला आशातित क्षेत्रमा बजेटले छुन सकेन । बजेटले जस्तोसुकै क्षेत्रलाई समेटेको भए पनि यस क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनलाई विशेष जोड दिएको राम्रै कुरा हो, उनले भने ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००