Logo

नगरपालिकामा कर्मचारी पदपूर्ति नहुँदा समस्या




सुशीला रेग्मी

रामपुर— पाल्पा, १५ कात्तिक ।
कर्मचारी रिक्त दरबन्दी पदपूर्ति हुन नसक्दा रामपुर नगरपालिकालाई सेवा प्रवाहमा समस्या परेको छ । रामपुर नगरपालिकाका अधिकांश वडा विकट र दुर्गममा रहेका छन् । सबै वडामा वडा कार्यालय सञ्चालन हुन नसक्दा दैनिक तीनदेखि चार घण्टाको समय बिताएर सानो कामकाजका लागि पनि नगरपालिका कार्यालयमा धाउनुपर्ने समस्या छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधिले नेतृत्व गरेको चार महिना भयो । नगरपालिकामा कर्मचारीको दरबन्दी अभावले वडा कार्यालय सञ्चालन नहुँदा सेवाग्राहीले भने निकै सास्ती खेप्नुपरेको छ ।

रामपुर नगरपालिका १० की संगीता भण्डारीलार्इ काखमा बच्चा च्यापेर चार घण्टाभन्दा बढीको समय खर्चिएर नगरपालिका कार्यालयमा आउन जान त्यति सजिलो छैन । एक दिनको समय बिताएर दुई छोराछोरीको जन्मदर्ताका लागि नगरपालिका कार्यालयमा आउन निकै समस्या झेल्नुपरेको छ ।

“स्थानीय तहको निर्वाचनपछि वडा कार्यालयबाट सबै काम बन्छ भन्ने सुनेकी थिएँ” “नगरपालिकाको कार्यालय पनि टाढा रहेको हुँदा सानो कामकाजका लागि दिन बिताउनु परेको छ” भण्डारीले भनिन् । हेर्दा काम सानो छ, तर आउन जानका लागि समय धेरै खर्चनुपर्ने बाध्यता छ ।

सोही ठाउँकै ७६ वर्षीय नरबहादुर गाहा पनि लौरो टेकेर झण्डै पाँच घण्टाको समय लगाएर नगरपालिका आएको बताउछन् । “सानो कामका लागि नगरपालिकामा आउन जानै निकै झन्झट छ, वडाबाट सेवा दिएमा नागरिकलाई ठूलो राहत मिल्ने थियो” उनले भने ।

दुर्गम र विकट क्षेत्र, कच्ची सडकका कारणले गर्दा यहाँ नियमित रुपमा यातायातका साधन चल्न निकै कठिन छ । वडा कार्यालय सञ्चालन नहुँदा अहिलेसम्म वडाका सबै कामकाज नगरपालिका कार्यालय भवनबाटै हुने गरेको छ । अर्कोतर्फ नगरपालिका भवनमा जनप्रतिनिधिलाई बस्ने व्यवस्था नहुँदा वडाका कामकाजमा निकै कठिनाइ हुने गरेको वडा नं १० का वडाध्यक्ष लिलाबहादुर गाहाले बताए ।

दशवटा वडा रहेको रामपुर नगरपालिकामा अहिलेसम्म २ र ६ नम्बर वडाको मात्र वडा कार्यालय स्थापना भएको छ । कर्मचारीको व्यवस्था नहुँदासम्म वडावडाबाट सेवा दिन नसकिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा बताउछन् ।

“कर्मचारीको व्यवस्थापनका लागि राज्यसंग ताकेता गरिरहेका छौँ, छिटोभन्दा छिटो कर्मचारीको व्यवस्थापन गरेर वडा कार्यालयबाट सेवा दिने तयारीमा लागेका छौँ” प्रमुख थापाको भनाइ छ ।

नगरपालिकामा दैनिक ठूलो संख्यामा सेवाग्राहीको भीड छ । जनप्रतिनिधिलाई पनि नगरपालिका भवनमा बसेर सेवा दिन समस्या परिरहेको उनीहरु बताउँछन् । सिंहदरबारको अधिकार गाउँगाउँमा भनेपनि नागरिकले भने स्थानीय तहको अनुभूति गर्न पाएका छैनन् ।
रासस

प्रतिक्रिया दिनुहोस्