२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाम गठबन्धन बिरूद्ध कांग्रेसबाट पूर्वसांसद चुनावी प्रतिस्पर्धामा




बागलुङ
, ८ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका दागि नेपाली कांग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।

बाम गठबन्धन विरुद्ध कांग्रेस उम्मेदवार एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । कांग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।

उनी २०७१ सालको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नं १ बाट विजयी भएका थिए । यस्तै, २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं ३ बाट निर्वाचित नीरज पुन अहिले क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

२०७० सालको संविधानसभा चुनावमा क्षेत्र नं २ बाट सांसद बनेका प्रकाश शर्मा पौडेल अहिले क्षेत्र नं १ को प्रदेशसभा क बाट चुनावी मैदानमा छन् । बाम गठबन्धनसंग तीव्र प्रतिस्पर्धा हुने देखेर कांग्रेसले पुनः पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेको विश्लेषण गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जनताको बीचमा स्थापित नेतालाई पार्टीले उम्मेदवार बनाएको बताए । जिल्लाको विकासमा तीनै पूर्व सांसदहरुको उल्लेख्य योगदान रहेकाले जित हासिल गर्ने कांग्रेसको दाबी छ ।

पार्टी सभापति थापा पनि निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क बाट चुनावी प्रतिस्पर्धामा छन् । पाका, अनुभवी र नेतृत्व तहमा रहेका व्यक्तिलाई उम्मेदवार बनाइए पनि पार्टीभित्र असन्तुष्टी रहेको कतिपय नेता बताउछन् । असन्तुष्टिका बीचमा पनि एक ढिक्का भएर चुनावमा जाने कांग्रेस र बाम गठबन्धनका दलले निर्णय गरेका छन् ।

अघिल्ला चुनावमा एकल रुपमा चुनाव लड्दै आएका मुख्य बाम दल अहिले तालमेल गरेर चुनाव भिड्दैछन् । बामपन्थीको राम्रो प्रभाव रहेको मानिएको बागलुङमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको बाम गठबन्धनसंग नेपाली कांग्रेस एक्लैले चुनाव लड्दैछ ।

प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले एक्लै उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको छ ।

एमालले एक प्रतिनिधि सभा र एक प्रदेश सभा, माओवादी केन्द्रले पनि एक प्रतिनिधि सभा र एक प्रदेश सभा तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेश सभामा उम्मेदवारी दिएका छन् । बाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । नेपाली कांग्रेस पनि चुनावी तयारीमा लागेको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भने सबै दलले मिश्रित परिणाम हात पारेका थिए ।
रासस

प्रकाशित मिति : ८ कार्तिक २०७४, बुधबार ००:००