ललितपुर, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछिको भौतिक पुनःनिर्माण गर्दा भूकम्प प्रतिरोधात्मक सुरक्षित बस्ती विकासमा जोड दिनुपर्ने बताएकी छन् ।
मंगलबार देखि शुरु भएको ज्यापू सङ्ग्रहालय महोत्सवका अवसरमा ज्यापू समाजद्वारा निर्मित ज्यापू सङ्ग्रहालयको उद्घाटन गर्दै उनले परम्परागत शैली झल्कने किसिमको भौतिक निर्माण गर्न आग्रह गरिन् । उनले कलानगरी पाटनमा बन्ने हरेक भौतिक निर्माण आफ्नै मौलिक झल्कने हुनुपर्नेमा जोड दिँदै निर्माणमा आफ्नै सीप, स्रोत र साधन प्रयोग गरिनुपर्ने बताइन् ।
सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्यापू समाजद्वारा स्थापित संग्रहालय वाग्मती सभ्यताको प्रतीक रहेको बताउँदै देश विकासका लागि ऐतिहासिक र सांस्कृतिक वस्तुको जगेर्ना र संरक्षण अनिवार्य भएको बताए ।
रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँ उपत्यकाको आदिवासी रैथाने ज्यापू समुदायले स्थापना गरेको संग्रहालयले ज्यापू समुदायको पहिचानलाई संरक्षण गर्ने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पपछिको पुनःनिर्माण गर्दा ऐतिहासिकतालाई ख्याल गर्नुपर्ने बताए ।
समाजका अध्यक्ष प्रेम महर्जनले ज्यापू समुदायको भाषा, धर्म र संस्कृति जोगाउने उद्देश्यले संग्रहालयको स्थापना गरिएको बताए । महोत्सव तीन दिनसम्म चल्ने छ । सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीलाई उनकै अर्धकदको शालिक हस्तान्तरण गरिएको थियो ।
रासस
प्रतिक्रिया