Logo

चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल




विनोदसिंह बिष्ट

बैतडी, ३ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसंगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसंगै चुनावी अभियानलाई पनि जारी राखेका हुन् । नेपाली कांग्रेसले जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा केन्द्रीय समितिमा नामावली पठाएको छ भने नेकपा एमालेले पनि प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले भने असोज ५ गते जिल्लामै उम्मेदवार टुंगो लगाइसकेको छ । उता राप्रपाले पनि समानुपातिक उम्मेदवारको नामावली केन्द्रीय समितिमा पठाएको छ ।

नेपाली कांग्रेसले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको भए पनि बैतडीमा नेपाली कांग्रेसले चारतारे लोकतान्त्रिक चौतारीको दोस्रो भाग सञ्चालन गरेर चुनावी अभियानलाई तीव्रता दिएको नेपाली कांग्रेस, बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिए । उनले भने, “समाजमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि नेपाली कांग्रेसको जित आवश्यक रहेकाले आफूहरुले अभियानमार्फत नागरिकसंग अन्तरक्रिया थालेका छौँ ।”

यस्तै, नेकपा एमालेले पनि चुनावलाई केन्द्रित गरेर जिल्लाका विभिन्न ठाउँमा संगठन बिस्तारको काम गरिरहेको एमालेका सचिव तथा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं २ बाट सिफारिश उम्मेदवार लीलाधर भट्टले जानकारी दिए । उनले भने, “संगठन बिस्तारसंगै अगामी चुनावमा कसरी अगाडि बढ्ने विषयमा छलफल गरिरहेका छौ ।”

अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको बैतडीमा जित सुनिश्चित गर्न ‘झाम अभियान’ सञ्चालन गरेको माओवादी केन्द्र बैतडीका संयोजक एवं प्रदेशसभाका लागि बैतडी क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार प्रेमप्रकाश भट्ट ‘आदित्य’ले जानकारी दिए ।

बैतडीको डिलाशैनी गाउँपालिकाको कोटपेटरस्थित झामालेकदेखि पञ्चेश्वर गाउँपालिकाको महाकालीसम्म संगठन विस्तार र चुनावी प्रचारप्रसारका लागि झाम अभियान जारी रहेको छ । उनले बताए, “संगठन सुदृढीकरण र प्रचारप्रसार अभियान सञ्चालनमा छ ।”

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिक उम्मेदवारको सिफारिश गरेसंगै चुनावी अभियानलाई पनि जारी राखेको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताए । नेकपा माले, नयाँ शक्ति नेपाल पार्टी, विवेकशील साझा पार्टीलगायत अन्य साना दल भने उम्मेदवारको खोजीमा रहेका छन् ।

सरकारले गत भदौ तेस्रो साता अगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलतालाई हेरेर पहिलो चरण मंसिर १० मा हिमाली एवं उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरण मंसिर २१ मा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैतडीमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ । दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र कायम गरेको छ ।

आगामी निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय, बैतडीको सदरमुकाम गढीमा असोज २९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत बैतडीका न्यायाधीश विष्णुप्रसाद गौतमलाई तोकेर निर्वाचनसम्बन्धी काम पनि थालिएको उनले बताए ।

बैतडीमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुई जना तेस्रोलिङ्गी गरी एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्