८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिन महिनादेखी माेवाइल टावरमा समस्या, स्थानीय सञ्चार सुविधाबाट वञ्चित




ताप्लेजुङ
, २६ असोज । विगत तीन महिनादेखि मोवाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् । ताप्लेजुङको सिरिजंघा ७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आए पनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित हुनु परेको हो ।

टावर जडान गरिएको तीन महिना नपुग्दै खराबी आए पनि बन्द भएको तीन महिना बितिसक्दासम्म मर्मत भएको छैन । वैशाखमा जडान गरिएको टावरमा असार १४ गते नै खराबी आएको स्थानीयवासी भानुभक्त गौतमले बताए । खराबी भएको तीन महिना बितिसक्दा सम्म मर्मत नगरिँदा त्यहाँका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ता मर्कामा परेका छन् ।

उक्त मोबाइल टावरको सेवा क्षेत्र जिल्लाको दुर्गम भेग पर्छ । साबिकको याम्फुदिन, मामांखे, खेवाङ, सुरुम्खिम, मेहेले, पेदाङ, आम्वेगुदिन, पेदाङ, तेल्लोक, सिकैचा लगायतका गाविसवासीले सो टावरबाट सेवा लिँदै आएका छन् । अन्य स्काई तथा एनसिएलको समेत राम्रो नेटवर्क नआउने भएकाले त्यहाँका बासिन्दालाई थप समस्या भएको छ । इलाममा रहेको एकीकृत मर्मत सम्भार इकाईको कार्यालयलाई खराबी आउनासाथ खबर गरे पनि हालसम्म चासो नदिएको स्थानीयवासीको आरोप छ ।

यता टावरमा आएको खराबीबारे कार्यालयले चासो राखेको र केही दिनमा नै मर्मत हुने कार्यालयका इञ्चार्ज ज्ञाननाथ सापकोटाले बताए । टावरको रेडियो लिंकमा खराबी आएको र मर्मतका लागि केही सामान क्षेत्रीय कार्यालयबाट मगाउनु परेको र टावर राखिएको ठाउँमा पुग्न निकै समय लाग्ने भएकाले पनि ढिलाइ भएको सापकोटाको भनाइ छ । ताप्लेजुङसहित पूर्वी क्षेत्रमा जडान गरिएका विटिएस टावरको मर्मतसम्भार उक्त कार्यालयले नै गर्दै आएको छ ।
रासस

प्रकाशित मिति : २६ आश्विन २०७४, बिहिबार ००:००