१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुला दिशामुक्त घोषणा गरिएको नगरपालिकामै शौचालय छैन




कञ्चनपुर
, २६ असोज । खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायका बासिन्दासंग शौचालय नै छैनन् । नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन् ।

बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ कार्यशाला गोष्ठिका सहभागी वडाध्यक्षले अधिकांश विपन्न र जनजाति परिवारले शौचालय नै निर्माण नगरेको बताएका हुन् ।
ढांणाका ४० परिवार राना थारू समुदाय, टमटा टोल, बूढीनाला र आसापुर क्षेत्रका दलित र विपन्न परिवारसंग शौचालय नहुँदा खोला, किनारा र खेतमा शौच गर्नका लागि जाने गरेको पाइएको वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर बिष्टले बताए ।

“आर्थिक अवस्था कमजोर रहेका कारण ती परिवारले नगरपालिकाले सबै सेवासुविधा रोक्दासमेत पक्की शौचालय निर्माण गर्न नसकेको र अस्थायी रुपमा बनाएका शौचालय बिग्रिएका कारण खेतमा शौच गर्न बाध्य भएका हुन्” उनले भने । शौचालय निर्माण गरिएका भए पनि जनचेतनाको अभावका कारण अधिकांश स्थानीय बासिन्दाले प्रयोगमा ल्याएका छैनन्, वडा नं ८ का वडाध्यक्ष बहादुर सिंह महराले भने, “धेरैले शौचालयमा दाउरा राख्ने र घाँस थन्क्याउने ठाउँका रुपमा प्रयोग गरेको पाइएको छ ।”

“मन्दिर र सार्वजनिक अधिकांश स्थानमा शौचालय नै छैनन्” वडा नं १ का वडाध्यक्ष हरिश बिष्टले भने, “भएका ठाउँमा पनि सरसफाइको व्यवस्था नहुँदा अलपत्र परेका छन् ।” विद्यालयमा कक्षाकोठाभन्दा बढी शौचालय भए पनि सरसफाइ नगरिँदा दुर्गन्धित अवस्थामा विद्यार्थीले प्रयोग गर्नु परिरहेको उनले बताए । अव्यवस्थित बस्तीमा शौचालय नै नहुँदा पूर्ण सरसफाइमा बाधा परेको वडा नं ११ का वडाध्यक्ष दिलबहादुर बुढाले बताए ।

उनका अनुसार वडाका अधिकांश परिवारले छोरी–बुहारी छाउपडी हुँदा शौचालय प्रयोग गर्न नदिने रूढीवादी चलनका कारण खेत, खोला र झाडीमा शौच गर्न बाध्य हुने गरेका छन जसबाट वातावरण दुर्गन्धित बनेको छ । नगरपालिकाका सबै बासिन्दाको शौचालयको पहुँच पुर्याउनका लागि सबैको सहयोगको खाँचो रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत गौराजबहादुर लिम्बूले बताए । यसका लागि नगरपालिकासंग हातेमालो गरी अगाडि बढ्न प्रतिबद्ध रहेको उनले बताए ।

नगरपालिकामा बसोबास गर्ने बासिन्दामध्ये पक्की शौचालयको प्रयोग गर्ने आठ हजार ५०९ र कच्ची प्यान सिट सहितको शौचालय प्रयोग गर्ने परिवारको सङ्ख्या १५४ रहेको प्रतिवेदन घोषणा सभामा पेश गरिएको थियो ।
रासस

प्रकाशित मिति : २६ आश्विन २०७४, बिहिबार ००:००