७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठराई विकासका लागि १५ वर्षे गुरुयोजना




अमृत बास्तोला

आठराई— तेह्रथुम, २५ असोज ।

तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो ।

बजारलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणा लगायतका योजना गुरुयोजनाको मुख्य उद्देश्यमा रहेका छन् ।

व्यवस्थित बसपार्क, संक्रान्तिबजार–खाम्लालुङ–सोबुवा देउरालीदेखि गुफापोखरी सडक निर्माण, सबै वडालाई समेट्ने गरी चक्रपथ, सिँचाइका लागि सडक क्षेत्रमा ड्रेन निर्माण गुरुयोजनामा समावेश भएका छन् ।

सुक्खायाममा आकाशेपानी संकलन, विद्युतलाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन तथा दूध चिस्यान केन्द्र, हाटबजार क्षेत्रको व्यवस्थापनका साथै बस्ती विकास र भवन निर्माणका मापदण्ड गुरुयोजनामा रहेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।

संक्रान्तिबजारको पूर्वी क्षेत्रमा रहेको याकुम्बा गढीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । गढीमा पर्यटक विश्रामस्थल सहितको भ्यू टावर निर्माणका लागि भौतिक योजना तथा शहरी विकास शाखामा निर्णय गरी पठाइएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए ।

भौतिक विकास योजना निर्माणका लागि एडिए कन्सल्टेन्सीका विज्ञ मिलन बगाले र किरण जोशीसहितका सरोकारवाला र स्थानीयको सहभागितामा योजना तयार पारिएको हो । गुरुयोजनाका उद्देश्यलाई गाउँपालिकाले समेत प्राथमिकतामा राख्ने बताइएको छ ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार ००:००