१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने




काठमाडौँ
, २२ असोज । संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ । ‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिए ।

उनले भने, “सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ ।” विदेशमा शान्ति मिसनमा जाँदामात्रै राम्रो कमाइ हुने परिपार्टीको अन्त्य गर्दै बलका कर्मचारीको भत्ता र सुविधा बढाउन विभिन्न योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, “देशभित्र औद्योगिक सुरक्षामा खटिँदा होस् वा जलविद्युत् आयोजनाको सुरक्षामा खटिँदा सोबापत ती संस्थाबाट थप रकम त्यहाँ खटिने बलका कर्मचारीले पाउने व्यवस्था गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।”

बलले शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेश पाएकाले सो क्रममा आएका समस्या र समाधानका उपायबारे सम्मेलनमा गहन छलफल हुने उनले विश्वास व्यक्त गरे । त्यस्तो छलफलले बलको नयाँ रणनीतिक योजना विकास गर्ने एवं आवश्यक कार्यनीति तय गर्ने उनको भनाइ छ ।

मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको र त्यो अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । केहीअघिको बाढीपहिरोमा राहत तथा उद्धारमा र स्थानीय निकायको निर्वाचनमा शान्तिसुरक्षा दिन सशस्त्र प्रहरी बलले खेलेको भूमिका सराहनीय रहेको गृहमन्त्रीले बताए ।

कार्यक्रममा बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठन व्यवस्थापन, नीति, रणनीति तय गर्न सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७४, आइतबार ००:००