Logo

भूकम्प पिडितको समस्याः जग्गा गुठीमा छ, घर कसरी बनाउने ?



 

युवराज पाण्डे

२१ असोज बनेपा, काभ्रे ।

काभ्रेपलाञ्चोकका भूकम्प पिडितहरूले घर पुनर्निर्माण गर्न गुठी, खाँण, सुकुम्वासीको भूमि सम्बन्धी विभिन्न समस्या आईलागेको छ । खासगरी पुनःनिर्माणको काम सहज र सरल ढंगले नभएपछि वर्षौदेखि जग्गा जोतभोग गरेका उनीहरुले जसोतसो अस्थायी बास जोडेका छन् ।

केहीले पुनःनिर्माणका लागि पहिलो किस्ता लिएका छन्, भने केहीले दोस्रो र तेस्रो किस्ता नपाएर अलपत्र परेका छन् । कसैले पुनःनिर्माणका लागि कुनै पनि राहत नै पाएका छैनन् भने कसैले रु ५० हजार लिएर पनि घर बनाउनसकेका छैनन् ।

तस्बिरः इन्सेक अनलाइन

जिल्लाको भूम्लु गाउँपालिका, मण्डनदेउपुर गाउँपालिका, पाँचखाल नगरपालिका, पनौती नगरपालिकालगायतका क्षेत्रमा भू–स्वामित्व आफ्नो नहुँदा सरकारले दिएको राहतमा पनि स्थानीयवासीको पहुँच स्थापित हुन सकेको छैन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, धुलिखेलका प्रमुख ध्रुब गैँडाले साविक घर बनाएको ठाउँमा नै पुनःनिर्माण गर्न मिल्ने गर्दै निस्साका आधारमा पुनःनिर्माण गर्न सकिने बताउँछन् । कतिपयले भने बर्षौंदेखि तिरो नतिरेका कारण समस्या देखिएको बताए ।

भूमि अधिकार मञ्च, काभ्रेपलाञ्चोकका अध्यक्ष रामबहादुर तामाङले गुठीका विभिन्न प्रकार रहेकाले त्यसको खारेजी आवश्यक भएको दाबी गर्छन् । खारेज नभए जग्गामा अधिकार प्राप्त नहुने तामाङले बताए । भू–स्वामित्व नभएको जग्गामा घर बनाउँदा उक्त घरको स्वामित्वमाथी प्रश्न उठ्ने हुँदा तामाङले गुठी लगायतका जग्गामा सामन्तवादको अवशेष रहेको आरोप लगाए ।

द्वन्द्व रुपान्तरण केन्द्रका संवादकर्ता तथा पत्रकार मधुसुदन गुरागाईंले पुनःनिर्माणमा भूमि सम्बन्धी समस्याले प्रभाव पारेकाले स्थानीयवासीको पक्षमा वकालतको काम गर्न खोजिएको बताउनुभयो ।

एक तथ्यांकअनुसार जिल्लामा ३ हजार घरपरिवार गुठी जग्गामा, खाँण जग्गा ४०० रोपनी र चार हजार ५०० घरपरिवार सुकुम्वासी छन् । गुठी जग्गा पनि नुन छर्ने, जात्रा देखाउने, टपरी लगायतका छन्, भने खाँण जग्गा पाँचखाल नगरपालिकाको दनुवार बस्तीमा छ । तत्कालीन चन्द्रध्वज खाँणको नाममा रहेको जग्गा भएकाले त्यसलाई खाँण जग्गा नामाकरण भएको हो ।

पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले खाँण जग्गा राणाको बिर्ता भएको उल्लेख गर्दै टाठावाठाले विसं २०५४ मा पुर्जा लिएको जानकारी दिए । गुठी संस्थान, धुलिखेलकाअनुसार काभ्रेपलाञ्चोकमा तैनाथी गुठी जग्गा १ सय ३७ रोपनी १४ आना, अधिनस्थ गुठी जग्गा २६ हजार २६२ रोपनी र रैतानी गुठी जग्गा २ हजार ८९० रोपनी छ ।

संस्थानका वरिष्ठ लेखापाल युवराज रेग्मीले आर्थिक वर्ष २०७३/७४ असारदेखि गुठी जग्गाको दर्ता बन्द भएपछि थप समस्या आएको जानकारी दिए । जिल्लामा १ सय १० गुठी छन् त्यसमध्ये ८० गुठी जात्रा पर्व चलाउने छन् । रासस

प्रतिक्रिया दिनुहोस्