१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामो समयदेखि जीर्ण कुश्माबजारका सडक कालोपत्रे गरिँदै



फागुन ९, पर्वत । लामो समयदेखि जीर्ण अवस्थामा रहेको पर्वत सदरमुकाम कुश्माबजारका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ ।

कुश्मा नगरभित्रको तीन किलोमिटर सडक चालू आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोक लगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको कामलाई तीव्रता दिइएको हो ।

बजार क्षेत्रका मुख्य सडक आठ मिटर चौडा पारेर कालोपत्रे गर्न सहरी विकास तथा पूर्वाधार विकास विभागबाट स्वीकृति लिएको नगरपालिकाले मापदण्ड कायम गरी काम शुरु गरेको हो । मुख्य बजारमै भएको साँघुरो सडक र स्थानीयले सडक मिचेर बनाएका पेटी भत्काएर फराकिलो पार्दै नाली निर्माणको काम अघि बढेको कुश्मा नगरपालिकाले जनाएको छ ।

मुख्य तथा शाखा सडक मिचेर बनाएका घरटहरा भत्काएर सबैजसो सडक चौडा पारिसकेको नगरपालिकाले अहिले दोस्रो चरणको पक्की नाली र कालोपत्रेको काम शुरु भएको जनाएको छ । पहिलो चरणमा रिङरोडको सडकका घरटहरा भत्काइसकिएकाले अब सडक चौडा पारेर मुख्य काम शुरु गरिएको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

“बजारका सबै सडकको न्यूनतम मापदण्ड अनुसार चौडा पार्ने काम सकियो” उनले भने, “अहिले दोस्रो चरणका काम अघि बढेका छन् । वषाभित्रै नगरवासीलाई चिल्लो सडक दिने लक्ष्य रहेका छ ।” शाखा सडकहरूको कालोपत्रेका लागि सर्वेक्षण सकिएकाले सबैजसो सडक कालोपत्रे गर्ने योजना बनाइएको उनले बताए ।

कुश्माको सबै सडक कालोपत्रे गर्न सहरी विकास आयोजनामार्फत आवश्यक रकम विनियोजन भइसकेको नगरपालिकाले जनाएको छ । यसअघि कुश्माको मुख्य बजार क्षेत्रको करीब छ किलोमिटर सडक मात्रै कालोपत्रे रहेको थियो ।

सबै सडक कालोपत्रे गर्दा सदरमुकामको मुख्य बजार क्षेत्रको करीब ११ किलोमिटर सडक कालोपत्रे हुने कुश्मा नगरपालिका–५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले जानकारी दिइन् । पहिलो चरणको तीन किलोमिटर कालोपत्रेको जिम्मा लिएका निर्माण व्यवसायी दीपक श्रेष्ठले आगामी जेठको अन्तिमसम्ममा सबै काम सकिने दाबी गरे ।

बजारको कुश्माको बान्द्रेबिंडी, खरेहा, लोकतन्त्रचोक, मेलमिलापचोक लगायत कुश्मा वडा नं ४, ५, ६ र ७ भित्र पर्ने सबैजसो सडक कालोपत्रेको चरणमा रहेको नगरपालिकाले जनाएको छ । “अघिल्लो वर्षबाटै नगरका सडकको न्यूनतम मापदण्ड बनाउने योजना थियो” कुश्मा–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले भने, “अहिले सबै नगरवासीको सहयोग भएकाले काम गर्न सहज भएको छ ।”

नगरपालिकाले चाक्लेको डिल, बौद्ध गुम्बा, उद्योग वाणिज्य सङ्घ, कल्लेरी जाने बाटो, मेलमिलापचोक, लभ्लीडाँडा लगायतमा सडकको मापदण्ड पूरा गरिसकेको जनाएको छ । नगरपालिका कायम हुनुअघि निर्माण भएका स्थायी संरचनामा समेत फेरबदल गरेर सडकको सबै स्वरूप नयाँ बनाउन लागेको हो ।

बजारका पुराना र मापदण्डबाहिर बनेका घरमा पेटी, पुराना नाली, विद्युत्, खानेपानीका पाइप, टेलिफोन, विद्युत् र केबलका तारसमेतको व्यवस्थापन गरी बजारलाई नयाँ स्वरूप दिन लागिएको छ । नगरपालिकाका प्राविधिकका अनुसार सम्भव भएसम्म मुख्य सडक १० र शाखा सडक आठ मिटर बनाउने गरी मापदण्ड बनाइएको छ । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार ००:००