१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ७ मा १४ लाख मतदाता




बैतडी
, १९ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् । तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीका अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० मतदाता रहेका छन् भने सबैभन्दा कम बाजुरामा ६९ हजार ८३४ मतदाता रहेका छन् । कैलालीमा दुई लाख २३ हजार ५०९ पुरुष, दुई लाख ३७ हजार ६३ महिला र आठ तेस्रोलिंगी रहेका छन् भने बाजुरामा ३५ हजार १४७ पुरुष, ३४ हजार ६८५ महिला र दुई तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।

बैतडीमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुई जना तेस्रोलिंगी गरी एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् । दार्चुलामा ३९ हजार ५८५ पुरुष, ३८ हजार ९२७ महिला गरी ७८ हजार ५१२ रहेका छन् ।

डडेल्धुरामा ४० हजार १५६ पुरुष र ४१ हजार ५७६ महिला गरी ८१ हजार ७३२ र बझाङमा ५१ हजार २७१ पुरुष, ५३ हजार तीन महिला र एक जना तेस्रोलिंगी गरी एकलाख चारहजार २७५ मतदाता रहेका जनाइएको छ ।

यस्तै, कञ्चनपुरमा एक लाख २८ हजार ५२३ पुरुष, एक लाख ३६ हजार ४५१ महिला र एक तेस्रोलिंगी गरी दुई लाख ६४ हजार ९७५, अछाममा ६४ हजार ७७६ पुरुष, ७२ हजार १२५ महिला र दुई तेस्रोलिंगी गरी एक लाख ३६ हजार ९०३ र डोटीमा ४९ हजार १४३ पुरुष र ५७ हजार ४०० महिला मतदाता रहेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले आगामी निर्वाचनमा मतदान गर्न पाउने बताइएको छ ।

मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार देशभरका ७७ जिल्लामा ७७ लाख ७६ हजार ४९६ पुरुष, ७६ लाख ५१ हजार ६५ महिला र १७० तेस्रो लिंगी गरी जम्मा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००