१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडक ६ दिनपछि खुल्यो




बाबियाचौर
— म्याग्दी, ९ असोज । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोबाट यातायातका साधन सञ्चालन हुन थालेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

बेनी–जोमसोम–कोरला सडक आयोजना, सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी, नेपाली सेना र प्रहरीको पाँच दिनको पहलमा सडक सञ्चालन गरिएको हो । अक्करे भिरको बीचमा रहेको सडकमा निरन्तर सुख्खा पहिरो खस्दा मर्मतमा ढिलाइ भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए ।

गजुरमुखी निर्माण कम्पनीको दुई वटा डोजर सडक मर्मतमा परिचालन गरिएको थियो । उक्त सडक खुलाउन नेपाली सेनाको रोहबरमा विस्फोटक पदार्थ समेत प्रयोग गरिएको थियो ।

सडक अवरुद्ध हुँदा मुक्तिनाथ तीर्थयात्रा, कागबेनीमा सोह्रश्राद्ध गर्न र मुस्ताङ भ्रमणमा जाने आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा पर्नुका साथै मुस्ताङमा उत्पादित स्याउ, आलु, तरकारी र दशैँका लागि भेडाच्याङ्ग्रा बजारमा पठाउन समस्या भएको थियो ।

बर्षा रोकिएपछि पहिरो खस्ने क्रम कम भएको र सो ठाउँको सडक फराकिलो बनाएर नियमित सिधा यातायात सञ्चालनको व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार ००:००