Logo

मधेशको पहिलो महिला प्रमुखमा रिनाकुमारी निर्वाचित




रौतहट
, ५ असोज । प्रदेश नं २ कै पहिलो महिला प्रमुखका रुपमा रौतहटको मौलापुर नगरपालिकामा रिनाकुमारी साह निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रको टिकटबाट रिनाकुमारी निकटतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मत ल्याएर प्रमुख पदमा निर्वाचित भएकी हुन् ।

उनीसंगै माओवादी केन्द्रका उम्मेदवार गौरी शंकर जयसवाल मौलापुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुख साहले कूल तीन हजार, ९१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाका प्रमुखका उम्मेदवार धीरज भन्ने रवीन्द्र पटेलले दुई हजार २०८ मत प्राप्त गरेका छन् ।

यसअघि परोहा नगरपालिकाबाट नेपाली कांग्रेसका शेख वकिल प्रमुख र सुगन्धी देवी गिरी उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुखले कुल छ हजार ३३० मत र उपप्रमुख गिरीले छ हजार ९० मत प्राप्त गरे । शेखका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार अरुण जयसवालले चार हजार मत प्राप्त गरेका छन् ।

त्यसैगरी ईशनाथ नगरपालिकामा फोरम लोकतान्त्रिकका सन्तोष मेहता प्रमुखमा र हुसेनी आरा खातुन उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुख मेहताले पाँच हजार ७८५ र उपप्रमुख खातुनले पाँच हजार २३६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिए ।

जिल्लाभरिका १६ नगरपालिका र दुई गाउँपालिका गरी कूल १८ स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । देशमै चासोको केन्द्र रहेको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा, एमाले दोस्रो स्थानमा, माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी गौर नगरपालिकामा राजपा अग्रस्थानमा, एमाले दोस्रो स्थानमा र फोरम तेस्रो स्थानमा रहेका छन् । एघार स्थानीय तहमध्ये चार स्थानमा नेपाली कांग्रेस, चार स्थानमा मधेशवादी र तीन स्थानमा माओवादी केन्द्रको अग्रता रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्