राजविराज, २ असोज । प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गरेका छन् ।
राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गरेको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिए ।
जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गरेको र सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गरेको बताइएको छ ।
यसैबीच तेस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको र १० बजेसम्ममा ३५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।
अत्यन्त हर्षोल्लासका साथ लामबद्ध भई महिला, पुरुष तथा युवायुवती मतदान कार्यमा धैर्यतापूर्वक मतदान गरिरहेको अनुगमनका क्रममा पाइएको पाण्डेले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा पाँच हजार ५२७ उम्मेदवारलाई तीन लाख ३१ हजार ७९ मतदाताले मतदान गर्दैछन् ।
रासस
प्रतिक्रिया