११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल बनेको छ महिनापछि सडक निर्माण शुरु




भक्तपुर,
२६ भदौ । मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने पुल निर्माण भएको छ महिनापछि बल्ल सडक निर्माण शुरु भएको छ ।

मध्यपुर थिमिबाट दधिकोट जाने छोटो र वैकल्पिक सडक निर्माणका लागि ठेक्का लिएको तीनवर्षपछि पुल निर्माण भएको र त्यसको छ महिनापछि बल्ल सडक निर्माण शुरु भएको हो ।

मध्यपुरथिमि नगरपालिका– ४ हनुमन्ते पुलबाट सूर्यविनायक नगरपालिका वडा नं ४ जोड्ने खरिबोटसम्मको सडक निर्माणको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले शिल्यान्यास गरे ।

करिब २५० मिटर लम्बाइको उक्त सडकलाई ११ मिटर चौडाइमा विस्तार गर्ने योजनासहित सडक निर्माण कार्य शुरु भएको छ । कार्यक्रममा नगरप्रमुख थापाले जनताको चाहना र नगरको प्राथमिकता अनुसार सडक निर्माण थालिएको बताउँदै टोल—टोलमा सडक पुग्ने बताए ।

सूर्यविनायक नगरपालिका, सडक डिभिजन कार्यालय र नगर विकास प्राधिकरणको ४० लाखको लागतमा सडक निर्माण गर्नेगरी काम शुरु भएको सूर्यविनायक नगरपालिका– ४ का वडाध्यक्ष उत्तम थापाले जानकारी दिए ।

सो सडक निर्माणभएपछि मध्यपुर थिमिबाट सूर्यविनायक नगरपालिका– ४, ७ र १ (सविक दधिकोट, गुण्डु र सिरुटार) तथा ललितपुरको लमाटार एवं लुभुका बासिन्दालाई यातायातको छोटो मार्ग बन्ने उनले बताए ।

आगामी कात्तिकसम्म सडक निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसंग सम्झौता भएको जानकारी दिँदै वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले उक्त सडक निर्माण भएपछि वडा नं ७ (साविक गुण्डु पिपल डाँडाबाट, किवाचोक, हर्षचोक) हुँदै काठमाडौसम्म सिधा यायातात सेवा सञ्चालन गर्ने निर्णय समेत भईसेकेको बताए ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार ००:००