१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा छ हजार सुरक्षाकर्मी परिचालन गरियाे




राजविराज
, २३ भदौ । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित बनाउन सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताइएको छ ।

त्यस्तै दुई हजारभन्दा बढी सशस्त्र प्रहरी निर्वाचनमा खटाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादवले जानकारी दिए । प्रत्येक मतदान केन्द्रमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात–सातजना सशस्त्र प्रहरीलाई खटाइएको छ भने गाउँपालिकामा प्रहरी निरीक्षकको नेतृत्वमा पाँच–पाँचजना सशस्त्र प्रहरीलाई खटाइएको प्रहरी उपरीक्षक यादवले बताए ।

त्यस्तै नेपाल प्रहरीले पनि प्रहरी निरीक्षकको नेतृत्वमा प्रत्येक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्लामा ४६२ मतदान केन्द्र र २९५ मतदान स्थल रहेको छ । जसमा सुरक्षाको दृष्टिकोणले २२४ अतिसंवेदनशील र २३८ संवेदनशील मतदान केन्द्र रहेको सप्तरीका प्रहरी प्रमुख सिंहले बताए ।

यता मतदान हुने दिन असोज २ गते सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेरा बनाएर सुरक्षा दिने प्रहरी उपरीक्षक सिँहले बताए । आवश्यकता परेकामा थप प्रहरी छिमेकी जिल्लाबाट ल्याउने उनले बताए ।

जिल्लाको १८ वटै स्थानीय तहका लागि ४६२ मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटाइने जिल्ला निर्वाचन कार्यालयका अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए । जिल्लामा ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा १६५ वडा रहेका छन् । जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता संख्या रहेको छ । जसमा १ लाख ७० हजार ८८८ पुरुष र १ लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी मतदाता छन् ।

सप्तरीमा स्वतन्त्रसहित पाँच हजार ६८३ जना चुनावी मैदानमा
असोज २ गते प्रदेश नं– २ मा हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा स्वतन्त्रसहित कुल पाँच हजार ६८३ जना विभिन्न राजनीतिक दलका उमेदवारको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा रहेको १८ वटा स्थानीय तहमध्ये नौवटा नगरपालिकाको प्रमुखमा १०३ जना, नौवटा उप–प्रमुखमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यस्तै ९ वटा गाउँपालिकाको प्रमुखमा ११४ जना र उपप्रमुखमा ७४ जनाले उम्मेदवारी दिएका छन् । कुल १६४ वटा वडाका लागि प्रमुखमा भने एक हजार २१७ जनाले उम्मेदवारी दिएको बताइएको छ । यस्तै वडा सदस्यका लागि ३२८ सदस्य मध्ये दुई हजार ३० जना र १६४ दलित महिला सदस्यका लागि ९८२ जना र १६४ महिला सदस्यका लागि एक हजार ७४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज नगरपालिकाको प्रमुखमा तीनजना स्वतन्त्रसहित १३ जना, उपप्रमुखमा नौ जना, वडाध्यक्षमा १२५ जना, सदस्यमा २०६ जना, दलित महिला सदस्य ८८ जना र महिला सदस्यमा १०६ जना गरी कुल ५४७ जनाको उम्मेदवारी परेको छ ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार ००:००