कञ्चनपुर, २३ भदौ । कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन् ।
भारतीय बजारबाट उपचार गरी फर्कने क्रममा नगरा नजिक तीनजना भारतीय लुटेराले हमला र लुटपाट गरेका हुन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका रानासंग रहेको मोबाइल सेट र भारतीय रुपैयाँ ३६ हजार लुटेराले लुटेर लगेका छन् ।
लुटेराको आक्रमणका कारण रानाको पिठ्यूँ, टाउको, खुट्टा र हातमा चोट लागेको छ । पूर्वअध्यक्ष रानाले लुटेराले मोटरसाइकल रोकेर लुटपाट र आक्रमण गरेको बताए ।
इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रहरी निरीक्षक मोहन साउदले भारतीय प्रहरीसंग समन्वय गरी आक्रमण र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको बताए ।
रासस
प्रतिक्रिया