पथरी– मोरङ, २० भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले वडा नं १९ का बाढीपीडतका लागि घर बनाइदिने भएका छन् । उनले क्षेत्र नं ६ को वडा नं १९ का विपन्न २० बाढीपीडितको घर बनाइदिने घोषणा गरेका हुन् ।
कांग्रेस १९ नं वडा समितिले मंगलबार आयोजना गरेको राहत वितण कार्यक्रममा जनता आवास कार्यक्रमका पूर्वअध्यक्ष अर्यालले सो कार्यक्रमअन्तर्गत घर बनाउन सहयोग गर्ने घोषणा गरेका हुन् । अर्यालकै पहलमा मोरङमा ७५७ घर निर्माण सकिएको छ भने मोरङ क्षेत्र नं ५ को रङ्गेली नगरपालिकामा अवस्थित आँपगाछीको मुसहर बस्तीमा करिब सय घर निर्माण भइरहेको छ ।
जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र बाँतर समुदायलाई सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले घर बनाउन रकम उपलब्ध गराएको थियो । सांसद अर्यालले विराटनगर– १९ का बाढीपीडितलाई मंगलबार करिब तीन लाख बराबरको चामल, भुजा, चिउरा, दाल, तेल, नून र झुल वितरण गरेका छन् ।
कार्यक्रममा नेपाल तरुण दल मोरङका सभापति सञ्जय थापा, कांग्रेस नेता त्रिलोचन रिजाल, वसन्त हुमागाईं, सन्तनु रेग्मी, सुबोध निरौला, महानगर उपप्रमुख इन्दु कार्कीलगायतले करिब २०० बाढीपीडितलाई राहत सामग्री वितरण गरे ।
अमेरिकामा बस्दै आएकी सुमना दवाडीको अगुवाइमा त्यहाँ रहेका नेपालीले संकलन गरेर पठाएको रकमबाट राहत सामग्री ल्याइएको कार्यक्रमका नेपालतर्फका संयोजक प्रदीप खतिवडाले बताए ।
रासस
प्रतिक्रिया