काठमाडौँ, १९ भदौ । राज्य व्यवस्था समितिको आज (सोमबार)को बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ ।
नेपाली कांग्रेसका राधेश्याम अधिकारी, शंकर भण्डारी लगायतका सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको हो ।
यसअघि नेपाली कांग्रेसका १९ सांसदले भ्रष्टाचारसम्बन्धी अभियोग प्रमाणित भएका व्यक्तिले तीन वर्षपछि चुनाव लड्न चाहेमा उनीहरुको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै राज्य व्यवस्था समितिमा संशोधन विधेयक दर्ता गरेका थिए ।
सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गते गर्ने निर्णय गरिसकेको भए पनि निर्वाचनसम्बन्धी कानून नभएकाले चुनावको तयारी प्रभावित थियो । राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले आजै उक्त विधेयक संसद्मा पेश गर्ने भएको छ ।
आजको बैठकमा गंगालाल तुलाधार, ईश्वरी न्यौपाने, विक्रमबहादुर थापा, आनन्दप्रसाद ढुंगाना, रेखा शर्मा, वामदेव गौतम लगायत सांसदले विधेयक सम्बन्धमा धारणा राखेका छन् ।
रासस
प्रतिक्रिया