१२ चैत्र २०८०, सोमबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम




फलेवास
— पर्वत, १८ भदौ । फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गरिने भएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने तयारी भएको हो ।

उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन् । शुरुमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने र विस्तारै माध्यमिक तहसम्म विस्तार गरिने नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि भन्दै गाउँबाट बसाइँसराइ गर्ने र निजी विद्यालयतर्फ सर्वसाधारणको आकर्षण बढ्दै जान थालेपछि नगरपालिकाले उक्त अभियान थालेको हो । नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीबीच शैक्षिक भिन्नता पाइएपछि हाल सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएकाले आउँदो वर्षबाट अनिवार्यरुपमा लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।

आगामी वर्षदेखि अंग्रेजी माध्यमका लागि विषयगत शिक्षकको व्यवस्था गरी सामुदायिक विद्यालयकै सुविधा र शुल्कमा पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि विद्यार्थी शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध कायम गरी नगरभित्रका सम्पूर्ण विद्यालयमा सुधारका कार्ययोजनासमेत बनाउँदै नगरलाई नमूना नगर बनाउने शर्माको भनाइ छ ।

त्यसैगरी नगरपालिकाले अबदेखि शुक्रबारका दिन पनि ४ बजेसम्म विद्यालय अनिवार्यरुपमा खोल्नुपर्ने र उक्त दिन १ बजे पछि अतिरिक्त क्रियाकलाप नगरी विद्यालय बन्द गर्ने परम्परासमेत हटाइएको छ ।

यस्तै नगरभित्रका विद्यालयले अबदेखि वर्षको चारपटक कक्षा जाँच तथा परीक्षा अनिवार्य गर्नुपर्ने भएको छ । परीक्षापछि अनिवार्यरुपमा उत्तरपुस्तिका विद्यार्थीलाई उपलब्ध गराई अभिभावकको संलग्नतामा नतिजा विश्लेषण गर्ने र सुधारका कार्ययोजना बनाउने निर्णयसमेत नगरपालिकाले गरेको नगर उपप्रमुख मञ्जु अधिकारीले बताइन् ।

शैक्षिक सुधारका लागि उक्त नगरपालिकाको पहलमा नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकले १७ बुँदे साझा प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्रमा निरन्तर विद्यार्थीको मसान्तसम्मको मूल्यांकन गर्ने, शिक्षक समय तोक्ने, प्रत्येक विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था मिलाउने, प्रत्येक महिना अभिभावकसंग छलफल गर्ने, कम्तीमा महिनामा एक पटक अभिभावकसंग अन्तरक्रिया गर्नेलगायतका कुरा प्रतिबद्धतामा उल्लेख छन् । उल्लिखित प्रतिवद्धता कार्यान्वयन नगरे कारबाही गर्ने नगर प्रमुख शर्माको भनाइ छ ।
रासस

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार ००:००