९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लार्चाको बेलिवृज निर्माणमा पहिरो बाधक




चौतारा
, १५ भदौ । तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल बगाएपछि बेलिवृज निर्माणमा विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको छ । सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा दैनिक जसो भारी वर्षा, माथिबाट ढुंगा खस्ने समस्या र पहिरो खस्ने गरेका कारण यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।

पुलको जग तयार गर्ने क्रममा ठूला ठूला ढुंगा निस्किएको र मेसिनले समेत फोर्न नसकेपछि झण्डै दश दिन लगाएर स्थानीयवासीले घन तथा छिनाद्वारा फुटालेको इञ्जिनियर शीला न्यौपानेले जानकारी दिइन् । साथै जग हाल्ने काम बिहीबारबाट शुरु हुने उनले बताइन् । “दुबैतर्फ जगमा कडा चट्टानले अवरोध नपुर्याएको भए बेलिवृज जडान गर्न १५–२० दिनभन्दा बढी लाग्दैनथ्यो,” न्यौपानेले भनिन्– “जस्तै अवरोध आए पनि दसैं अगाडि काम सक्ने लक्ष्य लिएका छौँ ।”

दैनिक पानी परिरहेकोले माथिबाट ढुंगा खस्ने समस्यालाई समेत झेल्दै जोखिमपूर्ण तरिकाले काम गरिरहेको र बगाएको सडकलाई समेत बनाएर यातायात खुलाउने काम भइरहेको इञ्जिनियर न्यौपानेले बताइन् । सो स्थानमा पुग्न अरनिको राजमार्गको विभिन्न ठाउँमा गएको पहिरोको सामना गर्नुपर्ने हुन्छ ।

गएको साउन आठ गते चट्टानसहितको पहिरोले ७० मिटर लामो फुल्पिङकट्टीको र तातोपानी जोड्ने भोटेकोशी नदीको पक्की पुल बगाएको थियो । विसं २०३८ मा बाढीले बगाएपछि करिब दुई वर्षपछि सोही स्थानमा चीन सरकारले पुल निर्माण गरेको हो । तातोपानी नाका जोड्ने उक्त पुल बगाएपछि त्यहाँका करिब दुई हजार ५०० भन्दा बढी परिवारले सास्ती व्यहोर्नु परेको थियो ।

हाल त्यहाँ तुइनको साथै फलामे फड्के समेत राखिएको छ । सो ठाउँमा ७० मिटर लामो बेलिवृज राख्नुपर्ने भए पनि बाहिरबाट झिकाउन समय लाग्ने हुँदा सडक विभागसंग मौज्दात रहेको ५० मिटर मात्र लामो बेलिवृज राख्न लागिएको बताइएको छ ।
रासस

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहिबार ००:००