१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमकमा विश्व बैंकले पाँच अर्ब लगानी गर्ने




दमक
, १४ भदौ । शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले झापाको दमकमा करिब पाँच अर्ब लगानी गर्ने भएको छ । दमकको भौतिक तथा पूर्वाधार विकासका लागि पाँच अर्ब लगानी भित्र्याउन प्रारम्भिक चरणका काम थालिएको दमक नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको भौतिक तथा पूर्वाधार विकासका लागि विश्व बैंकले एक वर्षभित्रमा योजनाको अध्ययन र छनोटसमेत गरेर करिब पाँच अर्ब बराबरको लगानी गर्ने बताए ।

उनले त्यसका लागि प्रारम्भिक चरणका तयारी तीव्रताका साथ सञ्चालनमा रहेको बताए । “हामीले यतिका परियोजना ल्याउनका लागि आवश्यक सबै तयारी एकैसाथ थालेका छौँ” नगर प्रमुख ओलीले भने, “अब दमकमा यस परियोजनाबाट यहाँको हरेक क्षेत्रमा विकासले फड्को मार्ने छ ।”

उनले परियोजना सञ्चालन गर्नका लागि सरोकारवाला पक्षहरुसंग आवश्यक सुझावसहित अन्तरक्रिया सञ्चालनमा रहेको समेत जानकारी दिए । आयोजनाको प्राविधिक पक्ष सिमेका–विम–होमल्याण्ड जेभी कन्सल्ट्याण्टले सहजीकरण गरी आएको नगरपालिकाले जनाएको छ । नगरपालिका र प्राविधिक संस्थाले महिना दिनदेखि परियोजनाका बारेमा छलफल सञ्चालन गर्दै आएका छन् ।

नगरपालिकाका अनुसार दमकका सबै वडाबाट योजना छनोट गरेर तीमध्ये महत्वपूर्ण तीनवटा योजनाको भने डिपिआर नै तयार हुनेछ । योजना छनोटमा दमकमा शिक्षा, स्वास्थ्य, नदी नियन्त्रणलगायतका विषय समावेश हुनेछन् ।

शहरी विकास मन्त्रालयमार्फत विश्व बैंकले लगानी गर्ने पूर्वका प्रमुख चारवटा नगरपालिकाको अध्ययन गरी योजना छनोट गरिने अध्ययन टोलीका प्रमुख अजयचन्द्र लालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १४ भाद्र २०७४, बुधबार ००:००