१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका लागि आवश्यक कानून निर्माण अन्तिम चरणः सञ्चारमन्त्री बस्नेत




काठमाडौँ
, १३ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनका लागि आवश्यक कानून निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । मन्त्री बस्नेतले मंगलबार आफ्नै कार्यकक्षमा सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसंग कुरा गर्दै निर्धारित समयभित्रै निर्वाचन विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने तयारीमा सरकार जुटेको जानकारी गराए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर १० गतेका लागि तोकिएको र निर्वाचन क्षेत्र निर्धारण आयोगमार्फत निर्वाचन क्षेत्रको सिमाना हेरफेर गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै उनले भने, “शान्ति सुरक्षा र अन्य तयारीमा सरकार तम्तयार छ ।”

जनतालाई सही र द्रुत गतिमा सूचना दिन मन्त्रालय टेलिफोन सेवाको गुणस्तर सुधार्न र मुलुकभर सूचनाका माध्यम प्रभावकारी रुपमा विस्तार कार्यमा जुटेको अवगत गराउँदै मन्त्री बस्नेतले तत्काल सम्बन्धित सबै निकायका प्रमुखको बैठक राखेर गुणस्तर सुधारिने प्रतिबद्धता व्यक्त गरे ।

सूचना प्रविधिको विकास र गुणस्तर सुधारले मुलुकका अन्य क्षेत्रको काम पनि प्रभावकारी हुने धारणा व्यक्त गर्दै उनले मन्त्रालय मातहतका निकायमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास दिलाए ।

मन्त्री बस्नेतले मातहतका निकाय प्रभावकारी रुपमा परिचालन गर्न आफू स्वयं क्रियाशील भएको र बिदाको दिन तथा कार्यालय समयभन्दा थप समयमा पनि काम गर्न शुरु गरेको जानकारी दिए ।

फरक प्रसंगमा मन्त्री बस्नेतले हालैको बाढी पहिरोबाट पीडित जनतालाई राहत दिन सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै सरकार प्राकृतिक विपद्को प्रभावकारी व्यस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाई अघि बढ्ने तयारीमा रहेको विचार व्यक्त गरे ।

सञ्चारकर्मीको जिज्ञासामा मन्त्री बस्नेतले स्व कृष्णप्रसाद भट्टराई आमसञ्चार राष्ट्रिय प्रतिष्ठान गठन प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको र यही महिनाभित्र कार्यान्वयनमा आउने विश्वास दिलाए । प्रतिष्ठानको कार्यान्वयनले नेपालका सञ्चारमाध्यमको गुणस्तरीयता बढ्ने उनको भनाइ थियो ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार ००:००