६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीमा मृत्यु भएका परिवारलाई पच्चीस हजार राहत प्रदान




गौशाला
, १२ भदौ । महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ । सरकारले बाढीमा ज्यान गुमाएकालाई दुई लाखका दरले राहत दिने घोषणा गरेकोमा हाल २५ हजार तत्काल राहतस्वरुप पठाएको र दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिएको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आइतबार बाढीमा ज्यान गुमाएका जलेश्वर नगरपालिका– २ का १५ वर्षीय बिक्कीकुमार ठाकुर र पिपरा गाउँपालिका– ६ का आठ वर्षीय रितेश सदाका अभिभावकलाई २५ हजारका दरले राहत उपलब्ध गराए ।

यसबाहेक अन्य बाँकी मृतक सात जनाको परिवारलाई पनि आज राहतस्वरुप रु २५–२५ हजार प्रदान गरिने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । साथै बाँकी रहेका एक लाख ७५ हजार सरकारले पठाउनेबित्तिकै जिल्ला प्रशासनले पीडितलाई उपलब्ध गराउने प्रजिअ श्रेष्ठले बताए ।

यसैगरी एलायन्स फोर डिजास्टर रिलिफले महोत्तरीका ३१५ जना बाढीपीडितलाई राहत वितरण गरेको छ । अविरल वर्षापछि आएको भीषण बाढीबाट प्रभावित भएका महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रका विभिन्न तीन वटा वडाका ३१५ जनालाई सो संस्थाले राहत वितरण गरेको हो ।

सो संस्थाले जलेश्वर नगरपालिका वडा नं २ का १५४ जना, वडा नं ८ का ५६ जना र वडा नं ३ का १०५ जना अति पीडितलाई राहत वितरण गरेको छ । बाढीबाट अन्नपात बगाएर खानलाई समस्या भइरहेका तीनवटै वडाका पीडितलाई सो संस्थाले चामल, दाल, नून, तेल, आलु, प्याज, जीवनजल र झुल वितरण गरेको छ ।
रासस

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार ००:००