१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीका बाडीपिडितलार्इ विभिन्न संघसंस्थाद्वारा राहत वितरण




राजविराज
, १२ भदौ । सप्तरीका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेको छ । सर्भाइबर्स नेपालले बिपी कोइराला पिस एण्ड डेमोक्रेटिभ सेन्टरको संयोजनमा जिल्लाको सकरपुरा, रम्पुरा मल्हनियाँ, लौनिया र देउरी भरुवाका २२५ जना बाढीपीडित परिवारलाई पाँच लाख ५५ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, बाल्टिन, जग लगायतका राहत सामग्री वितरण गरेको छ ।

नेपाल फर्मास्युटिकल्स प्रालि जीतपुर वीरगन्ज परिवार तथा सोही स्थानका समग्र ट्रेड युनियनले संयुक्तरुपमा छिन्नमस्ता गाउँपालिका– ५ लोखरमका बाढी प्रभावित २०९ परिवारलाई खाद्यान्न, साबुन र औषधि वितरण गरेको छ ।

त्यस्तै नेपाल सरकार, अक्सफाम नेपाल, डिसिए नेपाल र कोशीपीडित समाजले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ११ इनरुवाका १७० परिवारलाई चामल, मुसुरो दाल, चना, सूर्यमुखी तेल, चिनी, नुन लगायतका खानेकुरा वितरण गरेको बताइएको छ ।

यस्तै विभिन्न संघसंस्थाले जिल्लाको देउरी भरुवा, लौनिया, सकरपुरा, रम्पुरा मल्हनियाँ, छिन्नमस्ता र महदेवाका बाढीपीडितलाई राहत वितरण गरेको छ । नेपाल परिवार दल केन्द्रीय कार्य समितिले पनि सप्तरीको राजविराज नगरपालिका– १५ स्थित देउरी भरुवा र हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ८ बेल्हा टोलका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ ।

देउरी भरुवाका ९५ परिवार र बेल्टा टोलका ४१ जना बाढीपीडित परिवारलाई राहतस्वरुप चाउचाउ, बिस्कुट, चिउरा, नुहाउने साबुन, झुल, तौलिया, लत्ताकपडा लगायतका सामग्री वितरण गरेको परिवार दलले जनाएको छ ।

यस्तै पर्वत सेवा समाज नेपालको सहयोग तथा स्थानीय सेतु सामुदायिक मानवअधिकार मञ्चको संयोजनमा जिल्लाको महदेवा गाउँपालिकाका १०५ परिवारलाई खाद्यान्न र लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरेको छ ।

यसैगरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं १ स्थित बेल्ही टोलका २०० बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । शेर्पा अस्तुप गुम्बाले सहयोग गरेको राहतका सामग्री संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले बाढीपीडित प्रतिपरिवारलाई २५ किलो चामल वितरण गरेको फोरम नेपालले जनाएको छ ।

यस्तै नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिले सप्तरीको कृष्णाशवरण गाउँपालिकाका १३० परिवारलाई राहतस्वरुव लत्ताकपडा वितरण गरेको छ । काठमाडौँको पद्ममकन्या क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा नेविसंघका विद्यार्थीले सप्तरीको अति विकट मुसहर बस्तीमा पुगेर राहत वितरण गरेको छ ।

सप्तरीको खड्ग नगरपालिका– १ सिश्वा बेल्हीमा पुगेर विद्यार्थीले १८ परिवारलाई खाद्यान्न, लत्ताकपडा साथै अन्य उपभोग्य सामग्री वितरण गरेका छन् । यसैगरी बाढीबाट प्रभावित जिल्लाको दक्षिणी भेगमा पशु सेवा कार्यालय सप्तरीले आइतबार पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पशु सेवा कार्यालयका प्रमुख डा अशोककुमार सिंहका अनुसार जिल्लाको अति प्रभावित हनुमानगर कंकालनी नगरपालिकाको वडा नं १२ डलुवा, वडा नं १४ को रम्पुरा मल्हनिया र तिलाठी कोइलाडी गाउँपालिकाको कोइलाडी हाटियास्थित निमावि स्कुलमा सञ्चालन गरिएको पाँच दिने निःशुल्क शिविरमा ५१३ कृषकका तीन हजार ४५४ पशु चौपायालाई जाँच गरी उपचार गरिएको बताइएको छ ।

साथै छ लाख ५० हजार मूल्य बराबरको औषधिसमेत वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा अशोककुमार सिंहले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार ००:००