८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङका स्थानीय तहमा कर्मचारी अभाव




रामबहादुर थापा

बागलुङ, ९ भदौ ।

स्थानीय तह गठन भएको महिनौँ भइसक्दा समेत यहाँका स्थानीय तहहरू कर्मचारीविहीन छन् । निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ ।

प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय अस्तव्यस्त छन् । दैनिक सेवा प्रवाहदेखि स्थानीय तहले तर्जुमा गरेका नीति, कार्यक्रम, योजना अघि बढाउन समस्या उत्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका सबैभन्दा बढी समस्यामा जेलिएको छ । सचिव कमलप्रसाद कँडेललाई वडा नं ५, ६, ७, ८ र ९ को जिम्मा छ । बाँकी एक देखि ४ वडा सचिव विष्णुप्रसाद शर्माले हेर्दै आएका छन् । “नाैँ वटा वार्ड २ जना सचिवको भरमा चलेका छन्” नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले भने, “नगर कार्यपालिकाको कार्यालयमा पनि कर्मचारी अभाव छ ।”

उनका अनुसार नौ कर्मचारीको दरबन्दी रहे पनि अहिले पाँच मात्र कार्यरत छन् । इन्जिनियर, सबइन्जिनियर, कम्प्युटर इन्जिनियर र कार्यालय सहयोगी छैनन् । विषयगत कार्यालयअन्तर्गत कृषि र स्वास्थ्यका कर्मचारी पुगे पनि शिक्षाका कर्मचारी अहिलेसम्म पुग्न सकेका छैनन् । कर्मचारी व्यवस्थापन समिति र जिल्ला समन्वय समितिमा पटक पटक समस्या राख्दा पनि कुनै सुनुवाइ नभएको कार्यकारी अधिकृत आचार्य बताउछन् ।

ढोरपाटन नगरपालिकाको छिमेकी तमानखोला गाउँपालिकाको समस्या पनि उस्तै छ । दुइै सचिवको जिम्मामा ६ वटा वार्ड छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले कर्मचारी अभावमा काम गर्न गाह्रो भएको बताए । “प्राविधिक जनशक्ति नै छैन, डिजाइन–इष्टिमेट र योजना कार्यान्वयन गर्न सकिएको छैन” अध्यक्ष बुढाले भने, “यस्तै अवस्था अझै केही समय रहे यो वर्षको सबै काम प्रभावित हुने देखिन्छ ।” उनले यथाशक्य छिटो कर्मचारी व्यवस्थापन गर्न सरकार र उसका निकायसंग माग गरे ।

तमानखोला गाउँपालिकामा अहिले कार्यकारी अधिकृत खिम विक र लेखापाल यामबहादुर थापा मात्र कार्यरत छन् । दरबन्दीअनुसार इन्जिनीयर, सबइन्जिनीयर, प्रशासन सहायक, कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसमेत नभएको कार्याकारी अधिकृत खिम विकले बताए । गाउँपालिकामा पनि नौ कर्मचारीको दरबन्दी छ ।

केही विषयगत कार्यालयबाट कर्मचारी खटिए पनि शिक्षाका कर्मचारी गएका छैनन् । जिल्लामा सबैभन्दा ठूलो समस्या वडाध्यक्षहरुको रहेको स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताए । “तेत्तीस जना वार्ड सचिवहरु अपुग छन्, एउटै सचिवले धेरै वार्ड हेर्नुपर्ने बाध्यता छ” आचार्यले भने । साबिकका गाविस विभाजन भएर धेरै वडा बनेपछि सचिव अभाव भएको उनको भनाइ छ । “माथिबाट कर्मचारी आउने सुर भएन, जिल्लामा सहायकस्तरको कर्मचारीको संख्या कम छ” उनले भने ।

कर्मचारी व्यवस्थापन समितिका अध्यक्ष सहायक प्रजिअ धु्रव गिरीले कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउछन् । “मुख्य रुपमा प्राविधिक र सहायकस्तरको कर्मचारी हामीकहाँ अभाव छ,” उनले भन्र, “माथिबाट कर्मचारी आएनन्, यहाँ भएकोलाई परिचालन गरिएको छ ।” खटाइएको ठाउँमा जान नमान्ने कर्मचारीको अटेरीपन, सामान्य प्रशासनको सरुवा र विषयगत कार्यालयले आफूखुसी कर्मचारी खटाउँदा समस्या निम्तिएको कर्मचारी व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लामा रहेका विषयगत कार्यालय र जिल्ला समन्वय समितिमा कर्मचारी दरबन्दी किटान गरेर पठाए बाँकी कर्मचारीलाई स्थानीय तहमा खटाउन सजिलो हुने समितिका पदाधिकारी बताउँछन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका छन् ।
रासस

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार ००:००