८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी आयोजना सञ्चालनमा नआउँदै भौतिक पूर्वाधार जीर्ण बन्न थाले




सुमन घिमिरे

उर्लाबारी— मोरङ, ९ भदौ ।

मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२ वर्षमा पनि सञ्चालनमा आउन नसकेको हो । आयोजना सञ्चालनमा नआउँदा उर्लाबारी नगर क्षेत्रका एक तिहाइ जनसङ्ख्या अझै ट्युवेलको पानी पिउन बाध्य छन् ।

समितिको बेवास्ता र ढिलासुस्तीका कारण करोडौँ खर्च गरेर निर्माण गरिएका केही भौतिक पूर्वाधार जीर्ण बन्दै गएका छन् । ४० एमएमदेखि २०० एमएम सम्मका पाइप लामो समयदेखि अलपत्र अवस्थामा फ्याँकिएका छन् । तीमध्ये अधिकांश पाइप कामै नलाग्ने अवस्थामा पुगेका छन् । दुई लाख २५ हजार लिटर क्षमताको पानी ट्याङ्की जीर्ण बनेपछि बुटवलबाट कामदार बोलाएर मर्मत सम्भार गरिएको छ ।

समितिकै ढिलासुस्तीका कारण आयोजना निर्माण भइसक्दा पनि आफूहरुले पानी पिउन नपाएको उर्लाबारी– ३ का पूर्ण श्रेष्ठले गुनासो गरे । उनले निर्माण भएको वर्षौंसम्म रेखदेख नहुदा पानीट्याङ्की कमजोर भइसकेको बताए । सो खानेपानी आयोजना आर्थिक बर्ष २०६१/६२ मा स्वीकृत भएको थियो । उक्त वर्ष नै स्थानीयवासी शोभितबहादुर निरौलाको अध्यक्षतामा मंगलबारे सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भएको थियो ।

प्रारम्भिक चरणको काम गर्दागर्दै निरौला बिरामी परेपछि लामो समयसम्म समिति कार्यवाहक अध्यक्षको भरमा चल्यो । उर्लाबारी–३ का मुक्ति न्यौपानेले लामो समयसम्म कार्यवाहक चलाएपछि गत वर्ष भेला बोलाएर अहिले अध्यक्ष बनेका छन् ।

उनले अहिले बालुवा, गिट्टीको अभाव रहेकाले केही काम गर्न नपाउँदा पानी वितरणमा ढिलाइ भएको बताए । आयोजनाले १० किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको समितिका उपाध्यक्ष कमलनारायण मल्लिकले जानकारी दिए । साढे पाँच हजारका दरले करिब ३०० लाई सदस्यतासमेत वितरण गरिसकेको मल्लिकले बताए ।

उनले नयाँ आर्थिक वर्षदेखि केही बजेट प्राप्त भएपछि पानी वितरण गर्न थालिने बताए । नौ कट्ठा जमिनमा कम्पाउण्ड वाल, कार्यालय भवन, चौकीदार भवन, पम्पसेट गाड्ने, खानेपानीको ट्याङ्की निर्माण सबै काम ५ वर्षअघि नै सम्पन्न भएको हो । तर निर्माण भएका पूर्वाधारको रेखदेख र मर्मत सम्भार नहुँदा कम्पाउण्ड वाल, पानी ट्याङ्की लगायतका पूर्वाधार जीर्ण बनिसकेका छन् ।

आयोजना निर्माणमा अहिलेसम्म तीन करोड ४९ लाखभन्दा बढी रकम खर्च भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । सो मंगलबारे खानेपानी आयोजना सञ्चालनमा आए नगरभित्रका तीन हजारभन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् ।
रासस

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार ००:००