काठमाडौँ, ८ भदौ । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । “पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिन्छौँ,” पार्टीको निर्णयमा उल्लेख छ ।
पार्टीद्वारा दुईदिने केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन बिहिबार आयोजित पत्रकारसम्मेलनमा संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको ठहरसमेत बैठकले गरेको छ ।
बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने आठवटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने निर्णयसमेत गरेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पत्रकारसम्मेलनमा जानकारी दिए ।
आगामी असोज २ गते प्रदेश नं २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । संविधान संशोधनको माग पूरा नभएको भन्दै राजपाले स्थानीय तहको यसअघि सम्पन्न दुई चरणको निर्वाचन बहिष्कार गरेको थियो ।
बैठकले बाढीपीडितलाई राहत, पुनःस्थापना तथा क्षतिको पुनः निर्माण गर्न बाढी प्रभावित पुनः निर्माण प्राधिकरण गठन गर्न मागसमेत गरेको छ । यसका लागि दबाब तथा संविधान संशोधन विफल पारिएकामा यही भदौ ९ गतेदेखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।
पत्रकारसम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसित सहकार्य नगर्ने तर स्थानीय आवश्यकताअनुसार हुन सक्ने जानकारी दिए । सञ्चारकर्मीको एक जिज्ञासामा उनले निर्वाचनमा छाता चुनाव चिह्न नपाएमा साइकल चिन्ह लिएर निर्वाचनमा जाने बताए ।
रासस
प्रतिक्रिया