७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा चौंतीस हजार मतदाताद्वारा नाम दर्ता




पोखरा
, २ भदौ । कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहीबारसम्ममा १७ हजार ९३८ महिला र १६ हजार १९४ पुरुषले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

तेत्तीसवटा वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २९ हजार ५६९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये १५ हजार ६६६ महिला र १३ हजार ९०३ पुरुष छन् ।

त्यस्तै अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकामा दुइ हजार २७२ महिला र दुई हजार २९१ पुरुष गरी चार हजार ५६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए ।

कुल नाम दर्ता भएकामध्ये विभिन्न जिल्लाबाट पोखरामा आई विभिन्न व्यवसाय र पेशा गरेका पाँच हजार ६६३ जनाले पनि नाम दर्ता गराएका छन् । बुढाबुढी, अपांग, विदेशबाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम भने भदौ ३ गतेसम्म कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा दुई लाख २४ हजार ८११ मतदाता संख्या रहेको छ ।
रासस

प्रकाशित मिति : २ भाद्र २०७४, शुक्रबार ००:००