२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा तीन करोडको तरकारीबाली नष्ट




विराटनगर
, १ भदौ । वर्षाका कारण मोरङमा तीन करोड मूल्य बराबरको तरकारीबाली नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवका अनुसार तरकारीखेती नष्ट भएपछि यतिखेर विराटनगरलगायत क्षेत्रमा तरकारीको मूल्य अकासिएको छ । पोखरीमा बाढी पसेपछि एक करोड मूल्य बराबरको माछा नष्ट भएको छ ।

माछा उत्पादन हुने गरेका कटहरी, जहदा, पथरी–शनिश्चरे, बेलबारीलगायत क्षेत्रका किसान मारमा परेका छन् । मोरङमा धानबालीमा भएको क्षतिको तथ्यांक संकलन हुन सकेको छैन । जिल्लाका सोनवर्षी, रंगेली, सुन्दरहरैचा, बूढीगंगालगायत दक्षिणी क्षेत्रका तीन हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको छ । पानी घटेपछि मात्र क्षतिको अनुमान गर्न सकिने यादवले बताए ।

बाढीका कारण अर्बौंको नोक्सानी

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा १ अर्ब ६ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ ।

धानबालीतर्फ ८८ करोड ५५ लाख, माछापालनतर्फ पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ ४ लाख ८० हजार र तरकारीबालीतर्फ १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए ।

बाढीबाट ७ हजार २ सय ६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ । बाढीले मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कन्काई, शिवसत्ताक्षी, दमक, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पुर्याएको छ ।
रासस

 

प्रकाशित मिति : १ भाद्र २०७४, बिहिबार ००:००