१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाल्टाखुल्टी पुर्ने कार्यमा तीव्रताः पराजुली




विराटनगर
, २७ साउन । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरका खाल्टाखुल्टी पुर्ने कार्यलाई तीव्रता दिएको बताएका छन् ।

विराटनगर महानगरपालिकाले शुक्रबार महानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नगर क्षेत्रका १५ हजार विद्युतीय खम्बामा चिम जडान गर्ने तथा अवरुद्ध भएका नाला खोलेर पानी निकासको कार्यलाई तीव्रता दिने बताए ।

प्रमुख पराजुलीले नगरसभा बैठक भदौ १८ गते बस्ने जानकारी गराउँदै करको दर वृद्धि नहुने तर करको दायरा बढाउन सकिने स्पष्ट पारे ।

कृष्णजन्माष्टमीको भोलीपल्ट विराटनगरमा हुने ऐतिहासिक रथयात्राको अवसरलाई ध्यानमा राखेर साउन ३१ गते स्थानीय बिदा दिने पनि उनले जानकारी गराए ।

यसका साथै, नगर प्रमुख भीम पराजुलीको अध्यक्षतामा नगरको कूल आय प्रक्षेपण तथा सोको सन्तुलित विवरणको खाका तयार गर्न बजेट सीमा निर्धारण समिति गठन गरिएको छ भने उपप्रमुख इन्दिरा कार्कीको अध्यक्षतामा राजश्व परामर्श समिति र बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरिएको छ ।
यसैबीच महानगरपालिकाको तेस्रो बैठकले सातवटा विभिन्न प्रकारका समिति समेत गठन गरेको छ । जसअनुसार, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकमा विनोदकुमार बस्नेत, सामाजिक विकास समितिको संयोजकमा बलदेव यादव, पूर्वाधार विकास समितिको संयोजकमा देवेन्द्रराज पोखरेल रहेका छन् ।

त्यस्तै विधेयक समितिको संयोजकमा मीनकुमार आचार्य, आर्थिक विकास समितिको संयोजकमा मनोज सुब्बा, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा विजय कामत र बजार अनुगमन समितिको संयोजकमा निश्चल आचार्यलाई चयन गरेको छ ।

सो अवसरमा महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले नगरको सरसफाइ, फोहर व्यवस्थापन, खाल्टाखुल्टी पुर्ने, चिम जडानलगायतका विषयमा जानकारी गराएका थिए ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००