Logo

जिल्ला समन्वय समिति मनाङमा कांग्रेस विजयी




मनाङ
, २१ साउन । जिल्ला समन्वय समिति (जिसस) मनाङको निर्वाचनमा नेपाली कांग्रेसको समूह नै विजयी भएको छ ।

जिससको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा एमालेको मात्र उम्मेदवारी परेकोमा कांग्रेसका यज्ञप्रसाद घले र उपप्रमुखमा कृष्णबहादुर लामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार चिनबहादुर घले र उपप्रमुखमा प्रेमकुमार श्रेष्ठलाई एक मतको अन्तरले पछाडि पार्दै विजयी भएका छन् । सदस्यहरुमा कांग्रेसका कर्म छेतेन गुरुङ, महिला सदस्य चेसकासी घले, दलित सदस्यमा सुकमाया विक र धनकासी गुरुङलगायत कांग्रेसको प्यानल नै विजयी भएको छ ।

गाउँपालिकाको चुनावमा दुई ठूला पार्टी कांग्रेस र नेकपा एमाले दुई–दुई गाउँपालिकामा सीमित थिए । तर समन्वय समितिको चुनावमा भने कांग्रेस विजयी भएको छ ।

गाउँपालिकाको निर्वाचनमा दुई गाउँपालिकामा प्रमुख र दुई उपप्रमुख पाएको कांग्रेस आफ्नो एक मतले जित हासिल गर्न सफल भएको छ । दुई गाउँपालिकाको प्रमुख र एक उपप्रमुख जितेको एमाले भने आफ्नो ३ मतमा नै खुम्चिएको छ ।

समन्वय समितिमा जम्मा सात पद रहेको थियो जसमा मतदाता संख्या आठ थियो भने तीन दल र एक स्वतन्त्रबाट चौधजनाको उमेदवारी परेको थियो । कांग्रेस, एमाले, राप्रपा र स्वतन्त्रबाट उम्मेदवारी परेको थियो । कांग्रेसबाट प्रमुख, उपप्रमुखलगायत छ जना र एमालेबाट छ र अन्यमा राप्रपा र स्वतन्त्रका एक–एक जना गरी १४ जना उमेदवार रहेका थिए ।

समन्वय समितिको मतदानमा भने एकजना मतदाता अनुपस्थित भएको मुख्य निर्वाचन कार्यालय, मनाङले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्