Logo

जिसस इलामको निर्वाचन साउन ३० गते, कार्य तालिका सार्वजनिक




इलाम
, २० साउन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले साउन ३० का लागि जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख एक–एक, दलित वा अल्पसङ्ख्यक एक, तीन महिला सदस्य र खुल्ला सदस्य तीनजना रहने गरी नौ सदस्यीय समिति गठन गर्न निर्वाचन अधिकृतको कार्यालयका जगदीश्वर भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार साउन २७ गते मतदाता नामावली प्रकाशन, २८ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, २९ गते दाबी विरोध, ३० गते बिहान उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने र सोही दिन दिउँसो मतदान हुनेछ ।

जिल्ला समन्वय समितिका लागि इलामका १० वटा स्थानीय निकायका २० जनाले मतदान गर्न पाउनेछन् जसमा स्थानीय निकायको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित सात वटामा नेकपा एमाले विजयी भएको छ भने तीनवटामा नेपाली काग्रेस विजयी भएको छ ।

रोङ गाउँपालिकामा काग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको हो भने फाकफोकथुम र माङसेबुङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले जित हासिल गरिसकेको छ । साउन ३० गते हुने समन्वय समितिको निर्वाचनमा एमालेबाट १६ र नेपाली कांग्रेसबाट चारजना मतदाता सहभागी हुनेछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्