९ चैत्र २०८०, शुक्रबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोगडाकेदार गाउँपालिकामा पहिराका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा




बैतडी
। दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिराका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ ।

लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ ।

यस वर्ष वर्षात् शुरु भएसंगै स्थानीयवासी लोगसिंह भाटको परिवार निकै जोखिममा परेको छ । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारको बिचल्ली भएको छ । पहिराले पानीघट्ट र सूर्य पन्त प्राविको खानेपानी ट्यांकी समेत बगाइसकेको छ ।

पहिराले धेरैको उठीबास गरिसकेको छ । आर्थिक अवस्था राम्रो भएकाहरु बसाइँसराइ गरिसकेका छन् भने आर्थिक अवस्था कमजोर भएका जोखिममा बस्न बाध्य भएका छन् । जमिनभित्र कमेरोयुक्त माटो भएकाले वर्षेनी पहिराले घरखेत बगाउँदै आएको छ ।

जोखिममा दुई विद्यालय

यहाँको लटिनाथ आधारभूत विद्यालय मेलथला र सूर्य पन्त आधारभूत विद्यालय डोल पहिराको जोखिममा परेका छन् । लगातारको वर्षाले पहिरो आउन थालेपछि विद्यालय पहिराको जोखिममा परेको दोगडाकेदार– ६ वडा कार्यालयका प्राविधिक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विद्यालयसमेत पहिराको जोखिममा परेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

लगातारको वर्षाले गौकुराका मदनसिंह भण्डारीको घर आधा चर्र्किएको छ । पहिराका कारण नै गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी भूपेन्द्र भण्डारीले जानकारी दिए ।

यस्तै शनिबार राति आएको वर्षाले पुर्चौडी नगरपालिका वडा नं ३ मा पहिरो जाँदा हर्क धामी र काशी धामीको घर जोखिममा परेका छन् । काशी धामीको घरमा पहिरो आउँदा गोठभित्र रहेका पशुचौपायालाई बाहिर निकाल्न नसकिएको वडाध्यक्ष दलबहादुर धामीले जानकारी दिए । मान्छे घरबाट बाहिर निस्कन सके पनि पशुचौपाया गोठमै थुनिएका छन् ।

अहिले हर्क र काशी आफ्नो घर छाडेर आफन्तका घरमा बसिरहेका छन् । पहिराले शंकर धानुक, हर्क धामीको खेत पनि पुरिदिएको छ । पहिराले खेत नै बगाइदिएपछि झनै समस्या भएको उनीहरुले बताएका छन् ।
रासस

प्रकाशित मिति : १५ श्रावण २०७४, आइतबार ००:००