१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण




म्याग्दी
। म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक मार्गका रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । छ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच वर्षदेखि नियमितरुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने यो पदमार्गमा आर्थिक बर्ष २०७३।७४ मा पर्यटन कार्यालय, पोखरामार्फत विनियोजन भएको रु १० लाख बजेटबाट पदमार्ग अन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमीटर पदमार्ग निर्माण गरिएको हो ।

झण्डै दुई महिना धौलागिरि हिमालको फेदीतिर अस्थायीरुपमा बसोबास गरी २८ जनाले पदमार्ग निर्माण गरिएको धौलागिरि आइसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रवकुमार पाइजाले जानकारी दिए ।

अक्करे भिरमा डोरीको सहायताले भिर फोरेर पदमार्ग निर्माण गरिएको छ । पाँच वर्षको अवधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको बाटो निर्माण भएको छ ।

बाटो निर्माण भएको पदमार्गमध्ये रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नति गर्नुपर्ने छ भने दहबुकीदेखि कालीबराह खोलासम्म पदमार्ग बनाइएको छ ।

कुइनेमंगले र चिमखोला साइटमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुग्नका लागि अब झण्डै तीन किलोमीटर पदमार्ग निर्माण गर्नुपर्ने छ । त्यसमा झण्डै ५० मिटर जति भूभाग कडा चट्टानको भिरलाई काटेर बनाउनुपर्ने अध्यक्ष पाइजाले बताए ।

त्यस्तै कालीबराहको दोभानबाट कालीबराहताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटोलाई स्तरोन्नति गर्नुपर्ने छ । यसैबीच पदमार्गलगायतका पूर्वाधार निर्माणले पूर्णता नपाउँदा र आवश्यक प्रचारप्रसारको अभावमा अहिलेसम्म सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ ।

पदमार्ग निर्माण योजना अगाडि बढे पनि नक्सांकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाइ भएको धौलागिरि आइसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताए ।

कुमारी पदमार्गका रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्सांकन गरी सूचनामूलक संकेत बोर्ड राख्ने र खानेपानी, भ्यू टावर, लजलगायतका पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने छ । रासस

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००