तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रण गर्न उक्त बजेट विनियोजन गरेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।
आवश्यक परे थप बजेट विनियोजन गरिने गुरुङ बताए। ।
“चितुवाको आक्रमणले भानुमा ६ बालबालिकाको ज्यान गइसकेको छ,” गुरुङले भने, “चितुवा नियन्त्रणका लागी गरिने सबै प्रयासमा प्रदेश सरकारको सहयोग रहनेछ ।”
प्रदेश सरकारले विनियोजन गरेको बजेट सामुदायिक वनमा खोर निर्माण, सचेतनामूलक कार्यक्रम लगायतका काममा खर्च गरिने डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई नियन्त्रणमा लिन ‘विशेष सुरक्षा दस्ता’ उक्त क्षेत्रमा परिचालन गरिएको छ । डिभिजन वन प्रमुख बरालका अनुसार कार्यालयबाट ४, नेपाल प्रहरीबाट ४ र सशस्त्र प्रहरीबाट ११ जनाको विशेष सुरक्षा दस्ता चितुवा नियन्त्रणका लागि खटिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त टोलीलाई गोली हान्ने समेतको अधिकार दिएको छ । विशेष सुरक्षा गस्तीका अलवा चितुवा नियन्त्रणका लागि भानुका सामुदायिक वनमा नौ वटा काठका खोर राखिएको छ ।
उक्त खोरमा परेर दुई वटा चितुवा नियन्त्रणमा आए पनि त्यस क्षेत्रमा थुप्रै चितुवा रहेको अनुमान छ ।
चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।
गाईको बाच्छीमाथि पनि आक्रमण
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार बिहान चितुवाले गाईको बाच्छीलाई आक्रमण गरेको छ । सोही ठाउँका मुक्तिनाथ खनालको गोठमा बाँधिरहेको गाईको बाच्छीलाई चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट बाच्छीको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बाच्छीको शरीरको विभिन्न भागमा चोट लागेको छ ।
भानुका विभिन्न वडामा चितुवाको आक्रमण बढिरहेको समयमा म्याग्देमा पनि चितुवाले गाईको बाच्छीलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित बनेको स्थानीयवासी विजयराज खनालले बताए । रासस






प्रतिक्रिया