१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेगखोलाको अस्थायी पुल बाढीले बगायो




बाबियाचौर
(म्याग्दी) । म्याग्दीको रघुगंगा गाउँपालिका– १ स्थित बेगखोलामा रहेको अस्थायी पुल बाढीले बगाएपछि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना निर्माण गरेको छ मिटर लामो अस्थायी पुल बुधबार राति बेगखोलामा आएको बाढीले बगाएको हो । २०७३ साउनमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएपछि आयोजनाले अस्थायी पुल निर्माण गरेको थियो ।

बाढीले पुल बगाएपछि बेनीबाट बेगखोला खण्डमा गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने भएको छ । पैदलयात्रीलाई समेत समस्या भएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले डाइभर्सन बनाएर सडक खुलाउने तयारी भएको जानकारी दिए । उनका अनुसार बिहानैदेखि डाइभर्सन बनाउने काम शुरु गरिएको छ ।

यसैबीच, पहिरोको जोखिमका कारण आज (बिहिबार) देखि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेलुकी ५ः३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई ६ बजे भुरुङ तातोपानीमा रोकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

उका अनुसार दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्नेछन् । मुस्ताङ जाने सवारीसाधन ५ः३० बजेभित्र गलेश्वरबाट अगाडि र मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दा अघिनै भुरुङ तातोपानीबाट छुट्नुपर्नेछ ।

गलेश्वरदेखि भुरुङ तातोपानी खण्डको सडकमा पहिरो र ढुंगा खसिरहने हुँदा दुर्घटनाको जोखिम रहेको छ । रासस

 

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००