१४ चैत्र २०८०, बुधबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेसीशहर नगरपालिकाको बजेट ३८ करोड ५५ लाख




लमजुङ
(बेसीशहर) । बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि साढे ३८ करोड रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरप्रमुख गुमानसिंह अर्यालले प्रस्तुत गरेको बजेटमा सरकारको गाउँपालिका वित्तीय समनीकरण अनुदानतर्फ रु २१ करोड ५ लाख १५ हजार, सशर्त पुँजीगत अनुदानमा रु १५ करोड ८१ लाख १७ हजार, संघीय संरचना पूर्वाधार विकास कार्यक्रम पुँजीगतमा रु ४८ लाख र आन्तरिक आयतर्फ रु ८० लाख उल्लेख छ ।

यस्तै, राजश्व बाँडफाँड रजिस्ट्रेशन शुल्कमा रु ३० लाख, प्राकृतिक स्रोतमा रु एक लाख, विद्युत् रोयल्टीमा रु एक लाख गरी कुल रु ३८ करोड ५५ लाख ३२ हजारका अनुमानित आय रहेको छ ।

व्ययतर्फ चालु खर्चमा रु ६ करोड ६ लाख २८ हजार रहेको छ । पुँजीगत खर्चतर्फ वित्तीय समनीकरण अनुदानतर्फ रु १५ करोड ७८ लाख ८७ हजार, सशर्त अनुदानतर्फ रु १५ करोड ८१ लाख १७ हजार, संघीय पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४८ लाख, आन्तरिक पुँजीगततर्फ रु ४१ लाख गरी रु ३२ करोड ४९ लाख चार हजार रहेको छ । चालु र पुँजीगत गरी जम्मा रु ३८ करोड ५५ लाख ३२ हजार खर्च हुने अनुमानित बजेट नगरपरिषद्ले पारित गरेको छ ।

नगरसभाबाट नगरपालिकाका १४ वटै वडाको रु ६०÷६० लाख बराबरको योजना तथा कार्यक्रम पारित गरिएको छ । बजेट प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेँसीशहर नगरपालिकालाई व्यवस्थित र समुन्नत बनाउन सबैको सहयोग र सहकार्यको खाँचो रहेको बताए ।

उनले नगरपालिकाको विकासका लागि भौतिक पूर्वाधार, यातायात, सूचना तथा सञ्चार, भवन तथा आवास, शहरी विकास, विपद् व्यवस्थापन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, वातावरण, पर्यटन लगायतका क्षेत्रको छुट्टै नीति तथा कार्यक्रम तयार गरिएको बताए । रासस

प्रकाशित मिति : ३० असार २०७४, शुक्रबार ००:००