८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठराई र फेदाप गाउँपालिकामा एमाले विजयी



तेह्रथुम । तेह्रथुमका छवटा स्थानीय तहमध्ये चारवटा गाउँपालिका नेकपा एमालेले जितेको छ । एमालेले आठराई, फेदाप र छथर गाउँपालिकामा प्यानलै जितेको छ भने मेन्छ्यायेम गाउँपालिकामा प्रमुख पदमा जित निकालेको छ ।

आठराई गाउँपालिकामा एमालेका मानबहादुर लिम्बू तीन हजार ८४७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट कांग्रेसका नारायणकुमार इङ्नामले तीन हजार ७४४ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा एमालेकी रुपादेवी कन्दङ्वा तीन हजार ९६३ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रमिला खनालले दुई हजार ९७१ मत प्राप्त गरेकी छन् ।

सात वडामध्ये एमालेले वडा नं १, ३, ४, ५ र ७ मा प्यानलै जितेको छ । कांग्रेस वडा नं २ र माओवादी केन्द्रले वडा नं ६ मा विजयी भएको छ । कुल १२ हजार ५६७ मतदाता रहेको आठराईमा आठ हजार ५९४ मत खसेको थियो ।

फेदाप गाउँपालिकामा एमालेका हरिप्रसाद चोङ्वाङ विजयी भएका छन् । उनले तीन हजार ४३९ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवप्रसाद भेटुवालले तीन हजार २२० मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा पनि एमालेकी गीतादेवी तीन हजार हजार ४३४ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गङ्गाप्रसाद लिम्बूले एक हजार ७०१ मत प्राप्त गरे । पाँच वडामध्ये नेकपा एमालेले वडा नं १, ३ र ४ मा जितेको छ । कांग्रेसले वडा नं २ र ५ मा जितेको छ । कुल १० हजार ६२५ मतदाता रहेको फेदाप गाउँपालिकामा सात हजार २९६ मत खसेको थियो ।

यसैबीच छथर गाउँपालिकामा एमालेका शन्तवीर लिम्बू (सन्तोष तिगेला) र मेन्छ्यायेम गाउँपालिकामा यादवबहादुर खापुङ विजयी भएका छन् । नतिजा आउन बाँकी म्याङ्लुङ नगरपालिकामा पनि एमाले नै अगाडि छ । लालीगुराँस नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००