१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणनामा सहयोग पुर्याउन आयोगको आग्रह



काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्यलाई छिटो सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा सम्बद्ध सबै सरोकारवालासंग पुनः आग्रह गरेको छ ।

दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा छिटो उपलब्ध गराउन राजनीतिक दल तथा उम्मेदवारको समन्वयमा आवश्यक मतगणना टोली गठन गरी मतगणनाको काममा तीव्रता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको पनि आयोगले जनाएको छ ।

बझाङको काँडा र मस्टा गाउँपालिका, बाजुराको पाण्डवगुफा गाउँपालिका, सङ्खुवासभाको चिचिला र सिलिचोङ गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थानीय तहको परिणाम प्राप्त भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको एक–एक तथा अछामको दुई स्थानीय तह बाहेक सबै स्थानीय तहको मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।

ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाइ भएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाउँपालिका वडा नं– १ र बझाङको जयपृथ्वी नगरपालिका–३ को पाण्डु मावि मतदान केन्द्रमा आज बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००