काठमाडौँ । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आइतबार राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ ।
मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ ।
निर्वाचनको मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक र ट्विटरलगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्न नहुने जनाउँदै निर्वाचन आयोगले त्यस्ता प्रचारप्रसारका क्रियाकलाप नगर्न र मौन अवधिको पूर्ण पालना गर्न सरोकार भएका सबै पक्षसंग आग्रह गरेको छ ।
मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि हदैसम्मको कारबाही हुने आयोगले जनाएको छ । रासस
प्रतिक्रिया